विश्वकपमा क्यानाडाको ऐतिहासिक विजय, कतारविरुद्ध आधा दर्जन गोलको वर्षा
काठमाडौं : फिफा विश्वकप–२०२६ मा क्यानडाले कतारविरुद्ध ६–० को फराकिलो जित दर्ता गर्दै आफ्नो विश्वकप इतिहासमै पहिलो विजय हासिल गरेको छ। समूह ‘बी’ अन्तर्गत भ्यानकुभरको बिसी प्लेस रंगशालामा बिहीबार सम्पन्न खेलमा जोनाथन डेभिडको उत्कृष्ट प्रदर्शनले क्यानडालाई सहज जित दिलाएको हो। खेलको सुरुवातदेखि नै आक्रामक देखिएको क्यानडाले कतारलाई दबाबमा राखेको थियो। डेभिडले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे भने साइल लारिन र नाथन सालिबाले एक–एक गोल थपे। बाँकी एक गोल कतारी खेलाडीको आत्मघाती गल्तीबाट क्यानडाले उपहारस्वरूप प्राप्त गरेको थियो।
जितसँगै क्यानडा समूहको शीर्ष स्थान नजिक पुगेको छ। अब अन्तिम खेलमा स्विट्जरल्यान्डसँग बराबरी खेले पनि क्यानडा समूह विजेताका रूपमा अर्को चरणमा प्रवेश गर्ने पक्का छ। यता, कतार र बोस्निया एन्ड हर्जेगोभिना भने प्रतियोगितामा आफ्नो अस्तित्व जोगाउनका लागि अन्तिम खेलमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
क्यानडाको यो ऐतिहासिक खुसीका बीच मिडफिल्डर इस्माइल कोनेको गम्भीर चोटले भने खेलमा दुःखद मोड ल्याएको छ। खेलको ५१औँ मिनेटमा कतारका आसिम मादिबोले पछाडिबाट गरेको लापरवाह ट्याकलपछि कोने मैदानमै पीडाले छट्पटिएका थिए। मेडिकल टोलीको सहयोगमा स्ट्रेचरमार्फत मैदानबाहिर लगिएका कोनेको बायाँ खुट्टामा गम्भीर चोट लागेको आशंका गरिएको छ। उक्त ट्याकलपछि भिएआरको समीक्षा गर्दै रेफ्रीले मादिबोलाई सिधै रातो कार्ड देखाएका थिए। पहिलो हाफमै होमाम अहमदले पनि रातो कार्ड पाएर मैदान छाडेपछि कतार नौ खेलाडीमा सीमित हुन पुगेको थियो, जसको भरपूर फाइदा क्यानडाले उठायो।
खेलमा संख्यात्मक लाभ पाएपछि क्यानडा थप आक्रामक बन्यो। कोनेको स्थानमा मैदान प्रवेश गरेका नाथन सालिबाले ६४औँ मिनेटमा आकर्षक फ्रिकिकमार्फत गोल गर्दै स्कोर ४–० बनाएका थिए। गोल गरेपछि उनले घाइते साथी कोनेको जर्सी उठाएर समर्थन जनाएका थिए। त्यसपछि जेकब साफेलबर्गको प्रहारलाई कतारी डिफेन्डर मोहम्मद मनाइले आफ्नै पोस्टमा छिराउँदा क्यानडाले पाँचौँ गोल पायो भने खेलको इन्जुरी समयमा डेभिडले आफ्नो तेस्रो गोलमार्फत ह्याट्रिक पूरा गरे। यो विश्वकपको ५६औँ तथा सन् २०२६ को दोस्रो ह्याट्रिक हो, जसले डेभिडलाई विश्वकपमा ह्याट्रिक गर्ने पहिलो क्यानडेली पुरुष खेलाडी बनाएको छ।
खेलको अन्त्यतिर मैदानमा देखिएको तनावपूर्ण वातावरणले नतिजालाई छायाँमा पार्न खोजेको थियो। अन्तिम सिटी बज्नासाथ दुवै टोलीका खेलाडीहरूबीच मैदानको मध्यभागमा झडप भएको थियो, जसलाई फिफाका स्वयंसेवक र अधिकारीहरूले समयमै हस्तक्षेप गरी नियन्त्रणमा लिएका थिए। खेलपछि प्रतिक्रिया दिँदै डेभिडले भने, “कोनेको चोटपछि खेलमा ध्यान केन्द्रित गर्न कठिन भयो, तर देशका लागि इतिहास रच्न सकेकोमा हामी गौरवान्वित छौँ।”
.gif)

.png)

