विगतमा विपद्ले दिएको दुःखको ‘प्रतिशोध’ साँध्ने गरी यसपाली तयारी गर्दैछौँ : गृहमन्त्री
सडक अवरोध हटाउन विशेष डिजिटल प्रणाली
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै यसपटक विपद् विरुद्ध 'प्रतिशोध' साँध्ने गरी प्रतिकार्य योजना अघि सारेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले विगतमा जस्तै नागरिकले विपद्को मार खेप्नु नपरोस् भन्ने उद्देश्यले विशेष तयारी गरेको जानकारी दिए।
गृहमन्त्री गुरुङले औपचारिक निरीक्षणभन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धार कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए। ‘विगतमा विपद्ले जसरी हामीलाई दुःख दियो, त्यसको प्रतिशोध साँध्ने गरी हामीले यसपालि तयारी गरेका छौं,’ उनले भने, ‘जनताको सुरक्षाका लागि आवश्यक पर्ने हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोत–साधनहरूलाई परिचालन गर्ने योजना छ।’
मनसुनका बेला बाढी–पहिरोले सडक अवरोध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग मिलेर एउटा विशेष 'एप' विकास गरेको छ। यो प्रविधिमार्फत मुलुकभर कुन स्थानमा डोजर तथा उद्धार उपकरणहरू उपलब्ध छन् भन्ने जानकारी तत्काल प्राप्त गर्न सकिनेछ।
मन्त्री गुरुङले यसको कार्यविधिबारे बताउँदै भने, ‘राइड शेयरिङ एपमा जस्तै नजिकको लोकेसन हेरेर सडक खुलाउन आवश्यक उपकरण तुरुन्तै परिचालन गर्ने संयन्त्र हामीले बनाएका छौं। यसले बाटो अवरुद्ध हुँदा तत्काल रेस्पोन्ड गर्न सहयोग पुर्याउनेछ।’
विपद् व्यवस्थापनका लागि अघिल्ला सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिँदै देखिएका कमीकमजोरी सच्याएर अघि बढ्ने मन्त्री गुरुङको प्रतिबद्धता छ। उनले सुरक्षा निकायलाई नागरिकमैत्री सेवा प्रदान गर्न र संकटको घडीमा छिटोभन्दा छिटो उद्धारमा खटिन निर्देशन दिएको बताए। ‘नागरिकको ज्यान बचाउन जोसुकैको सहयोग लिन हामी तयार छौं। नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकार आफ्नो सम्पूर्ण संयन्त्रसहित पूर्ण सतर्कतामा छ,’ उनले थपे।
.gif)

.png)

