दुई अर्ब होइन दुई रुपैयाँ मात्रै अनियमितता प्रमाणित भए सार्वजनिक जीवन छोड्छु: अर्थमन्त्री
‘सानो त्रुटिलाई अतिरञ्जित गरेर दशकौंसम्म मेहनत गरेर बनाएको छविलाई धमिल्याउने जुन दुष्प्रयास भएको छ’
काठमाडौँ : अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट निर्माणका क्रममा भएका सामान्य प्राविधिक र मानवीय त्रुटिलाई अतिरञ्जित गरेर दशकौँ लगाएर बनाएको आफ्नो छवि धुमिल्याउन खोजिएको भन्दै गम्भीर खेद प्रकट गरेका छन्।
सार्वजनिक लेखा समितिको बैठकमा आज बोल्दै अर्थमन्त्री वाग्लेले प्लास्टिकको सुटकेसको भन्सार दर ३० प्रतिशतबाट झरेर १५ प्रतिशत हुन गएको विषय नियतवश नभई प्राविधिक गल्ती भएको स्पष्ट पारे। अर्थमन्त्री वाग्लेले भने, ‘करको दर चुहावट भएको भए प्रमाण ल्याउनुस्, कठघरामा उभिन तयार छु। कुनै कागजात होला, कम्युनिकेसन भएको होला। छ भने प्रमाण ल्याउनुस न त।’
स्वास्थ्यकर्मीहरूको सुझावअनुसार जीवन बचाउने भ्याक्सिन र रगत बोक्ने क्यारियरलाई सुटकेसकै वर्गबाट छुट्ट्याएर नयाँ एचएस कोड दिने क्रममा भुलवस प्लास्टिक वा कपडाले बेरिएको सुटकेसको भन्सार पनि घट्न पुगेको र त्यसलाई तुरुन्तै सच्याएर पुरानै ३० प्रतिशत कायम गरिएको उनले जानकारी दिए। यस घटनामा दुई अर्ब त परको कुरा, एक रुपैयाँ मात्र पनि अनियमितता भएको प्रमाणित भए आफू सार्वजनिक जीवन छाड्न तयार रहेको उनले चुनौती दिए।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय (इभी) गाडीको कर चुहावट गरेर दुई अर्ब रुपैयाँ फाइदा लिएको भनी सञ्चारमाध्यममा आएका समाचारहरू पूर्णतः निराधार रहेको बताएका छन्। सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले दुई अर्ब त परको कुरा, दुई रुपैयाँ मात्रै पनि अनियमितता गरेको प्रमाण कसैले ल्याए आफू राजनीति मात्र नभएर सार्वजनिक जीवन नै त्याग्न तयार रहेको चुनौती दिए। अर्थमन्त्री वाग्लेले भने, ‘दुई अर्ब होइन दुई रुपैयाँ मात्रै अनियमितता गरेको प्रमाण ल्याउनुहुनछ भने राजनीति मात्रै होइन, सार्वजनिक जीवन नै छोड्न तयार छु।’
बैठकमा अर्थमन्त्री वाग्लेले बजेट तयारीका क्रममा बिहान ४ बजे टाइप गर्दा २० लाख सिआइएफ मूल्य (बजार मूल्य ५० लाखसम्म) पर्ने विद्युतीय गाडीको सडक निर्माण दस्तुरसम्बन्धी फुटनोट छुट्न गएको र बजेट वक्तव्यमै बोलिएको सिनेमा हलको आयकर छुटको विषय पनि विधेयकमा लेख्न छुटेकाले पछि सच्याइएको बताए। अर्थ मन्त्रालयको नेतृत्व र अभिभावकको हैसियतले कर्मचारीबाट भएका यी गल्तीको जिम्मा आफूले लिने बताउँदै उनले जेठ १७ गते नै सङ्घीय संसद सचिवालयलाई पत्र लेखेर यी कुराहरूको औपचारिक जानकारी गराइसकेको स्पष्ट पारे।
संसदलाई जानकारी गराएर सच्याइएको पाना पिजनहोलमा राखिसकेपछि मात्र सञ्चारमाध्यमहरूले 'पाना लुकाएर फेरेको' भनी अतिरञ्जनापूर्ण हल्ला फैलाएको उनको दाबी छ। जेठ १७ गते सांसदहरूको हातमा पुस्तिका परिसकेपछि त्यसमा एउटा थोप्लो वा पूर्णविराम पनि परिवर्तन नभएको दाबी गर्दै उनले विद्युतीय सवारी साधनहरू बजेट आउनुअघि नै जेठ १३ र १४ गते भन्सारमा आइसकेको रेकर्ड सुरक्षित रहेको समेत स्पष्ट पारे।
विद्युतीय सवारी साधानमा कर निर्धारण गर्दा सभ्रान्त वर्गले चढ्ने गाढीमा बढी कर लाग्ने व्यवस्था गरिएको उनले बताए। ‘इभीका विषयमा अर्बौ रुपैयाँ बेरुजु लेखेको कारण यो विषय सम्बोधन गर्नै पर्ने थियो। पिक पावरको विकृतिलाई हटाउने गरी कर निर्धारण गरिएको छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘विवेकपूर्ण सुधार गरिएको छ। भएको विकृतिलाई सुधार गर्न मूल्यको आधारमा कर लगाउने व्यवस्था गरिएको हो।’
.gif)

.png)

