सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

नयाँ संसद् गठनयता पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभाको बैठक स्थगित


२०८३ जेठ २५ सोमबार १४:३६ बजे

काठमाडौँ :  सोमबार बसेको प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूको तीव्र अवरोध र विरोधका कारण स्थगित भई भोलि मंगलबारका लागि सारिएको छ। विपक्षी दलहरूले सदन अवरुद्ध गरेपछि सभामुखले सुरुमा बैठक १५ मिनेटका निम्ति स्थगित गरेका थिए। तर, दलहरूबीच सहमति जुट्न नसकेपछि विशेष कारण देखाउँदै बैठक बस्ने दिन र समय नै परिवर्तन गरिएको हो।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना प्रकाशित गर्दै सोमबारको बैठक स्थगित भएको र अब अर्को बैठक मंगलबार (जेठ २६ गते) दिउँसो १:०० बजे बस्ने जानकारी दिएका हुन्। बजेट पारित गर्ने प्रक्रिया र करका दरको विवादले उग्र रूप लिएपछि संसद्को कार्यसूची प्रभावित बन्न पुगेको छ। २०८२ फागुन २१ को निर्वाचनपछिको यो नयाँ प्रतिनिधि सभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो।

संसद्मा जारी गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष टुङ्गिएको छ। बैठकमा सत्तापक्ष र विपक्षी दलहरूबीच कुरा नमिल्दा संघीय संसद्को अवरोध तत्काल नहट्ने सङ्केत देखिएको हो। विपक्षी दलहरूले आफ्ना माग सम्बोधन नभएसम्म सदनमा विरोधलाई निरन्तरता दिने निर्णय गरेका छन्।

बैठकमा सदन सुचारु गराउनका लागि रास्वपा सभापति लामिछानेले विवादित विषयमा सरकारका तर्फबाट परराष्ट्रमन्त्रीमार्फत संसद्मा जवाफ दिलाउने मध्यमार्गी प्रस्ताव राखेका थिए। उनले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले जवाफ दिने र आवश्यकता परे आफूले समेत कुरा राख्ने प्रस्ताव गरेका थिए। तर, विपक्षी दलहरूले भने सो प्रस्तावलाई अस्वीकार गर्दै प्रधानमन्त्री स्वयं नै संसद्को रोष्टममा उभिएर जवाफ दिनुपर्ने अडान राखेका छन्।

सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले केही विषयहरू लामो छलफलपछि मात्र समाधान हुने भएकाले तत्कालका लागि सदनमा देखिएको गतिरोध अन्त्य गर्नुपर्नेमा सभापति लामिछानेले जोड दिएको बताए । उनले भने, ‘भारत भ्रमण, समसामयिक राजनीतिको विषयमा कुरा अगाडि बढेर टुंगिसकेको अवस्था छ। सदनको अवरोध हटाउने विषयमा छलफल धेरै अगाडि बढिसकेको छ। केही कुराहरू मिल्न बाँकी जस्तो देखिन्छ

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एमाले) का नेता ऐन महरले राष्ट्रियता र सीमासँग जोडिएको गम्भीर विषय भएकाले प्रधानमन्त्रीले नै संसद्मा आएर स्पष्टीकरण दिनुपर्ने बताए। 'संसद् अवरोध गर्ने हाम्रो चाहना होइन, तर सार्वभौम देशको प्रधानमन्त्रीले सीमाका विषयमा दिएको अभिव्यक्ति असाध्यै गम्भीर छ। यसबारे प्रधानमन्त्री आफैँले जवाफ दिनुपर्छ र आवश्यक परे त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्छ,' महरले भने।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७