हिमालय एयरलाइन्सले आजदेखि काठमाडौँ-शेन्जेन सिधा उडान सुरु गर्दै
काठमाडौं : काठमाडौं । हिमालय एयरलाइन्सले आजदेखि काठमाडौं र चीनको सेन्जेनबीच ऐतिहासिक सिधा उडान सुरु गर्दैछ । हिमालय एयरलाइन्सले आज (जेठ २१) देखि चीनको ‘सिलिकन भ्याली’का नामले प्रख्यात सेन्जेनबीच सिधा उडान हुने भएको हो ।
नेपाल-चीन हवाई सम्पर्क विस्तार गर्ने रणनीतिक योजनाअन्तर्गत सञ्चालन हुन लागेको यस नयाँ सेवामार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच साप्ताहिक रूपमा दुईवटा उडानहरू सञ्चालन हुनेछन् ।
तालिका अनुसार काठमाडौँबाट शेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार उडान हुनेछ भने शेन्जेनबाट काठमाडौँ फर्कने उडानहरू बुधबार र शुक्रबारका लागि तय गरिएका छन् । कम्पनीले यात्रुहरूको चाप र मागका आधारमा भविष्यमा उडान सङ्ख्या थप गर्दै लैजाने योजना समेत बनाएको छ ।
चीनको ‘सिलिकन भ्याली’ का रूपमा विश्वभर परिचित तथा नवप्रवर्तन र उत्पादनको केन्द्र मानिने शेन्जेन सहरसँगको यो प्रत्यक्ष हवाई पहुँचले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार यो सञ्जाल विस्तारले नेपाल र चीनबीचको आर्थिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै व्यापार, लगानी र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।
सुरक्षित, सहज र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको यस एयरलाइन्सको नयाँ गन्तव्यबाट विशेष गरी व्यापारिक यात्रु, पर्यटक, विद्यार्थी र लगानीकर्ताहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
.gif)

.png)

