संसद्मै जंगिइन् आशिका तामाङ, रास्वपा सांसदले बल्लबल्ल सम्झाए
सहकर्मीले हात समातेर बाहिर निकाले
काठमाडौं : प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको प्रश्नोत्तर कार्यक्रमका दौरान सांसदहरूले प्रश्न सोध्न नपाएपछि संसद्मा केही बेर तनावपूर्ण स्थिति सिर्जना भएको छ।
प्रधानमन्त्रीलाई प्रश्न सोध्नका लागि रोष्टम अगाडि धेरै सांसदहरूले हात उठाए पनि सभामुखले दलीय आधारमा सन्तुलन मिलाउँदै प्रत्येक दलबाट एक–एक जनालाई मात्र अवसर दिएर प्रश्नोत्तर कार्यक्रम सकिएको घोषणा गरेपछि सांसदहरू असन्तुष्ट बनेका हुन्।
सभामुखले कार्यक्रम सकिएको घोषणा गरेलगत्तै नेकपा एमालेका प्रमुख सचेतक ऐन महर र सांसद ध्रुवराज राईलगायतले उठेर विरोध जनाउँदै सवाल-जवाफ गरेका थिए।
त्यत्तिकैमा रास्वपाकी सांसद आशिका तामाङ रिसाइन् । उनले विपक्षी सांसदतर्फ आक्रोश व्यक्त गरिन् । रास्वापाका सांसदहरूले बस्न आग्रह गर्दा पनि मानिनन् । उनले सिधै सत्तारुढ दलका सांसदहरूतर्फ लक्षित गर्दै रोष्टमबाटै आक्रोश व्यक्त गर्न थालेकी थिइन्।
आफ्नै दलकी सांसद आक्रामक रूपमा प्रस्तुत भएपछि रास्वपाका अन्य कतिपय सांसदहरूले उनलाई सम्झाउँदै बस्नका लागि पटक-पटक आग्रह गरेका थिए। तर, आक्रोशित बनेकी तामाङले बस्न नमानेपछि रास्वपाकै सहकर्मी सांसदहरूले उनको हात समातेर जबरजस्ती बैठक कक्षभन्दा बाहिर लगेका थिए। प्रश्नोत्तरको समय सीमित हुँदा संसद्भित्र सत्तापक्ष र प्रतिपक्षबीच बारम्बार यस्ता असमझदारी र असन्तुष्टिहरू देखिने गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भने श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सभामुखतर्फ औँला ठड्याएपछि आशिका तामाङ आक्रोशित बनेको दाबी गरेका छन्। ‘संसद्मा सभामुखको अपमान भएपछि उहाँ (आशिका) रिसाउनुभएको हो,’ रास्वपाका एक सांसदले भने, ‘सभामुखलाई औँला ठड्याएर कुरा गर्नु संसदीय मर्यादा विपरीत हो।’
.gif)

.png)

