इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमा अमेरिकी क्षेप्यास्त्र प्रहार


२०८३ जेठ १७ आइतबार १३:१४ बजे

काठमाडौँ, १७ जेठ :  अमेरिकी सेनाले इरानमाथि लगाएको समुद्री नाकाबन्दी तोडेर प्रवेश गर्न खोजेको एउटा मालवाहक जहाजमाथि क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी बन्दरगाह तर्फ अघि बढिरहेको उक्त जहाजलाई रोक्न अमेरिकी सेनाले त्यसको इन्जिन कक्षलाई निशाना बनाएर क्षेप्यास्त्र प्रहार गरेको जनाएको हो ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार गाम्बियाको झण्डा बोकेको उक्त मालवाहक जहाजले इरानको बन्दरगाहमा प्रवेश गर्ने प्रयास गरेपछि अमेरिकी सेनाले २० पटकभन्दा बढी चेतावनी दिएको थियो । तर, ती चेतावनीहरूलाई पूर्ण रूपमा बेवास्ता गर्दै अगाडि बढेपछि जहाजको इन्जिन क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ । क्षेप्यास्त्र लागेपछि हाल उक्त जहाज ओमानको खाडी क्षेत्रमा चल्न नसक्ने (अचेत) अवस्थामा रहेको छ । यद्यपि, अमेरिकी सेनाले अहिलेसम्म जहाजभित्र पसेर त्यसलाई आफ्नो पूर्ण नियन्त्रणमा भने लिइसकेको छैन ।

अमेरिकी सेनाका अनुसार नाकाबन्दी सुरु भएयता इरानतर्फ जान खोजेका ६ वटा व्यापारिक जहाजहरूलाई रोकिसकिएको छ । तीमध्ये एउटा जहाजलाई पछि अगाडि बढ्न अनुमति दिइएको थियो भने ११६ वटा जहाजलाई आफ्नो बाटो (रुट) परिवर्तन गर्न बाध्य पारिएको अमेरिकी तथ्याङ्क छ ।

के हो तनावको कारण ?

मध्यपूर्वमा गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । त्यसपछि इरानले विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग मानिने 'होर्मुज जलडमरूमध्य' क्षेत्रमा अन्य जहाजहरूको आवागमन ठप्प पारेपछि अमेरिकाले गत अप्रिल १७ देखि इरानमाथि कडा समुद्री नाकाबन्दी लागू गरेको हो ।

यद्यपि, गत अप्रिल ७ देखि युद्धविराम भने कायम छ । इरानको आणविक कार्यक्रमबारे वार्ता गर्नका लागि हाल कायम युद्धविरामलाई थप ६० दिन लम्ब्याउने विषयमा पनि छलफल भइरहेको छ । होर्मुज जलडमरूमध्यमा जारी तनावका कारण विश्व बजारमा तेल, प्राकृतिक ग्यास र मलजस्ता अत्यावश्यक वस्तुको आपूर्ति शृङ्खला नराम्ररी प्रभावित भएको छ, जसले विश्व अर्थतन्त्र र उपभोक्ताहरूमाथि ठुलो दबाब सिर्जना गरेको छ । अमेरिकाले लगाएको यो नाकाबन्दीको मुख्य उद्देश्य इरानको व्यापार र तेल निर्यातलाई रोकेर उसको अर्थतन्त्रमा थप दबाब बढाउनु रहेको विश्लेषण गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७