‘अन्तिम भिडियो’ पोस्ट गरेर सम्पर्कविहीन भएकी शोभा पाठकको सकुशल उद्धार
काउन्सिलिङका लागि अस्पताल लगियो
काठमाडौँ, १७ जेठ : शनिबार राति सामाजिक सञ्जालमा ‘अन्तिम भिडियो’ भन्दै भिडियो पोस्ट गरेर सम्पर्कविहीन भएकी शोभा पाठकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले पाठकलाई काठमाडौँ महानगरपालिकाको वनस्थली क्षेत्रबाट आइतबार बिहान करिब सवा ९ बजे सकुशल फेला पारिएको जानकारी दिए।
प्रहरीका अनुसार उद्धारलगत्तै उनलाई आवश्यक परामर्श तथा स्वास्थ्य परीक्षणका लागि मनमोहन अस्पताल पुर्याइएको छ। 'उहाँ सुरक्षित हुनुहुन्छ, आवश्यक काउन्सेलिङ वा उपचार आवश्यक पर्छ कि भनेर अस्पताल पुर्याएका छौँ, आफन्तजनसँग सम्पर्क गर्ने प्रयास पनि भइरहेको छ,' प्रवक्ता भट्टराईले भने।
शोभाले शनिबार राति पोस्ट गरेको उक्त भिडियोबारे प्रहरीलाई राति करिब १० बजे नै जानकारी प्राप्त भएको थियो। त्यसलगत्तै प्रहरीले उनीसँग सम्पर्क गर्ने र खोजी गर्ने प्रयास तीव्र पारेको थियो। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनले के कारणले ‘अन्तिम भिडियो’ भन्दै त्यस्तो सन्देश सार्वजनिक गरेकी थिइन् भन्ने विषयमा चिकित्सक तथा सम्बन्धित पक्षसँग समन्वय गरी थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।
.gif)

.png)

