सुशीला कार्की, ओमप्रकाश अर्यालसहित ४९ जनाविरुद्ध अनुसन्धान गर्न आयोगको सिफारिस

सुशीला कार्की, ओमप्रकाश अर्याल, सुधन गुरुङ, गौरीबहादुर कार्कीलगायत ४९ जनाविरुद्ध आन्दोलन भड्काएको आरोपमा थप छानबिन गर्न आयोगको सिफारिस


२०८३ जेठ १३ बुधबार २३:१४ बजे

काठमाडौं :  राष्ट्रिय मानवअधिकार आयोगले 'जेन-जी' आन्दोलन भड्काउन भूमिका खेलेको हुन सक्ने भन्दै ४९ जनाविरुद्ध थप सूक्ष्म छानबिन गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले सिफारिस गरेका व्यक्तिहरूमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वमन्त्रीहरू ओमप्रकाश अर्याल र सुधन गुरुङ, विशेष जाँचबुझ आयोगका पूर्वअध्यक्ष गौरीबहादुर कार्की तथा सांसद डा. तोसिमा कार्कीलगायत रहेका छन्।

आयोगले आन्दोलनका अगुवादेखि सामाजिक सञ्जालका 'कन्टेन्ट क्रियटर' सम्मलाई अनुसन्धानको दायरामा ल्याउन भनेको हो। उनीहरूले दिएका सार्वजनिक अभिव्यक्तिहरूका कारण आन्दोलन थप उत्तेजित बनेको हुन सक्ने आयोगको प्रारम्भिक निष्कर्ष छ। राष्ट्रिय अनुसन्धान विभागले बुझाएको प्रतिवेदनलाई समेत मुख्य आधार बनाएर आयोगले यो सिफारिस गरेको हो।

आयोगको प्रतिवेदनअनुसार ती व्यक्तिहरूले प्रदर्शन हुनुअघि, प्रदर्शनका क्रममा र प्रदर्शनपछि पनि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरू मार्फत निरन्तर अभिव्यक्तिहरू दिएका थिए। राष्ट्रिय अनुसन्धान विभागले उनीहरू प्रदर्शनमा समेत सहभागी भएको हुन सक्ने भन्दै सूचना संकलन गरेको थियो। सोही आधारमा गत भदौ २३ र २४ गते ललितपुरको नख्खु लगायतका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिमा उनीहरूको संलग्नता रहे/नरहेको विस्तृत जाँच गर्न आयोगले आग्रह गरेको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार, ती नेता तथा अभियन्ताहरूको अभिव्यक्तिले प्रदर्शनकारीलाई आक्रोशित र उत्तेजित बनाउन कति असर पुर्‍यायो भन्नेबारे गम्भीरतापूर्वक अनुसन्धान हुन जरुरी देखिन्छ। उनीहरूका कारण सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए/नभएको वा सो कार्यका लागि दुरुत्साहन (उक्साउने काम) भए/नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गर्न भनिएको छ।

आयोगले सम्बन्धित व्यक्ति तथा आमनागरिकलाई सत्यतथ्यबारे सुसूचित गराउन र आरोपित व्यक्तिहरूको स्वच्छ सुनुवाइको हक अधिकार सुनिश्चित गर्दै दोषी देखिएमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन समेत सिफारिस गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७