फोन ब्लक गरेको भए कसरी उत्रिन्थ्यो मुखुण्डो ?

उपहारको नाटक गरेर रक्सीको बोतलमुनि नगद लुकाउने को हुन् ती रहस्यमय विदेशी पात्र ?


२०८३ जेठ १२ मंगलबार १४:३८ बजे

हामीले चिनियाँ सिमकार्ड प्रयोगमार्फत नेपाली मिडियालाई ट्र्याप गरी यहाँका पदाधिकारी र सञ्चारप्रणालीमाथि अवाञ्छित आक्रमण गर्न खोज्ने केही विदेशी पात्रलाई अफिसमै आउने वातावरण सिर्जना गरेकै हो।

हामीले नै सङ्कलन गरेको सिसिटिभी फुटेज र अन्य प्रमाणका आधारमा सरकारले मूल दोषी पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ। एउटी दोषीको पहिचान खुलेको छ, अरूको पनि खुल्दै छ। त्यसमा हाम्रो पूर्ण साथ र सहयोग रहेको छ। देशले चिनेका दीपक भट्ट, सुलभ अग्रवालहरूले अर्बौँ राजस्व ठगेको खबर ब्रेकिङ गर्ने हामीले चिन्दै नचिनेका रहस्यमय पात्रहरूसँग खुसुक्क क्युआर कोड, बैंक खाता र मान्छे पठाएर ५० हजार नगद मगाएको छैन, होइन।

सरकारले दोषीलाई समातेर उसका डिभाइसबाट एडिटेड होइन फुल भर्सन अडियो र लिखित सञ्चार बरामद गर्नेमा हामी ढुक्क छौँ। शुक्रबार बेलुका उपहार पठाउँछु भन्नेलाई अँ अँ र ऊँ ऊँ गर्दै अफिसमै आउने वातावरण सिर्जना गरेर लगत्तै नेपाल प्रहरीलाई लिखित र हुलियासहितका अन्य प्रमाण उपलब्ध गराएको हामीले हो। यसको सारा अभिलेख नेपाल प्रहरीसँग छ। यो उत्खनन अरूले गरेको होइन, हामीले हो।

हामीले उपहार ग्रहण नगर्ने र तिनका आपराधिक गतिविधिमा कुनै साथ सहयोग पनि नदिने लिखित जवाफ तत्कालै फर्काएको र प्रहरीमा बिदाकै दिन भए पनि ८ पेजको उजुरी दर्ता गराएको भोलिपल्ट आइतबार दिउँसो १२ बजेदेखि तिनले चोरको खुट्टा काट् भन्दा फुत्त खुट्टा थुते झैँ मधेस र विदेश मूलका केही पात्रमार्फत एडिटेड सामग्री एकैचोटि छरपस्ट पारेर भ्रमको खेती सुरु गरेको सिक्वेन्स हेर्दा थाहा हुन्छ।

#गिफ्ट हामीले पठाऊ भनेको छैन, सुदन गुरुङ वा अन्य कुनै पनि पात्रलाई ठेगान लगाउन र राष्ट्रघात गर्न मञ्जुर छौँ भनेको छैन। फेरि सुदन गुरुङसँग हाम्रो न हिजो कुनै साइनो थियो, न आज कुनै सम्पर्क नै छ। राज्यको पदाधिकारीका हैसियतमा गरिएको पेसागत खबरदारी मात्र हो हाम्रो समाचार। कोही अमुक व्यक्ति या कोही विदेशीलाई फाइदा दिलाउन न हिजो लेखियो, न आज लेखिन्छ र न भोलि नै यस्ता कुरा सोच्न सकिन्छ। १० लाख दिने प्रलोभनलाई वाह, ओके भनेर सदर गरेको छैन। ५० हजार पठाएको चुपचाप स्वीकारेर तिनीहरूसँग सहकार्य गर्न तयार छौँ भनेको भए सायद यो प्रकरण बाहिर आउने थिएन, देश जुगजुगसम्म गुमराहमै रहने थियो। भ्रमको खेती चलाउनेहरूले भन्न सक्नुपर्यो– तिनले स्थापित गर्न खोजेको "घुस" भनेको के हो? बिहे, व्रतबन्ध, भोजको कार्डमा उपहार शीर्षकअन्तर्गत नगद र जिन्सी भनेर छुट्याइएको हुन्छ। मित्रताको नाटक देखाएर अडियो कल गर्ने अपराधीले गिफ्ट भनिरहँदा उसले एक शब्द पनि नगदको उच्चारण गरेको छैन।

सुदन गुरुङलाई ध्वस्त पार्ने, शेरबहादुर देउवालाई नेपाल ल्याएर केपी ओलीसँग भेटाई वर्तमान सरकारविरुद्ध नयाँ खेल सुरु गर्ने जस्ता अन्टसन्ट बोल्न थालेपछि शङ्का लागेर हामीलाई फोन आएको चिनियाँ सिम कसका नाममा र कहाँ रजिस्टर्ड छ भनी पत्ता लगाई प्रहरीलाई अनुसन्धानका निम्ति बेलैमा जानकारी दिएको हामीले हो, अरूले होइन। मिति र समय हेर्दा हुन्छ। उसका अनेकौँ कललाई हामीले इग्नोर गरेको उसैले निकालेको भिडियोमा छर्लङ्ग देखिन्छ। तैपनि उसले पटक-पटक कचकच गरेको गर्यै छ।

खोज पत्रकारितामा ३ दशक बिताएको हामीलाई यस प्रकरणमा पनि केही न केही सुराक पक्कै चाहिएको थियो। हामीले सुरुमै फोन ब्लक गरिदिएको भए उक्त षड्यन्त्रका मतियारको हुलिया र अरू प्रमाण जुट्न र तिनको मुखुण्डो उतार्न कति सम्भव हुन्थ्यो! बुझ्नेलाई यो कुरा गहिरो छ।

आज उपहार भन्दै रक्सीको बोतलमुनि नगद घुसारेर पठाउनेले भोलि त्यस्तै झोलामा जोकसैको नाममा लागुऔषध र विस्फोटक पदार्थको झोला हालिदिन सक्छ। जनआस्थालाई खुइल्याउन नक्कली हतियारको सहारा लिइरहनै पर्दैन। नियोजित भ्रम जसले सेयर गरिरहेको छ, उसको लिंक पनि यसमा खोजी हुने नै छ।

जनआस्थाले व्यक्तिगत रूपमा न हिजो केपी ओली, शेरबहादुर देउवा, प्रचण्डबारे लेख्यो, न आज अरूबारे लेखेको छ। सिस्टम नबिग्रियोस्, नभत्कियोस् भनेर हरेकलाई खबरदारी गरेको छ, गरिरहनेछ। यो हरेक नागरिक र अझ जिम्मेवार सञ्चारकर्मीको दायित्वभित्र पर्ने कुरा नै हो।जतिसक्दो छिटो यो प्रकरणको निप्टारा हुनैपर्छ। बूढी मरी भनेर ताली बजाउनेभन्दा काल पल्केकोमा चिन्ता गर्ने बेला छ।

(जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठको फेसबुकबाट साभार)

 

लेखक चिनारी

किशोर श्रेष्ठ
लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७