नेपाली फिल्मले जित्यो जुरी प्राइज
स्क्रिनिङपछि दर्शकका आँखा रसाए
काठमाडौँः नेपाली चलचित्र क्षेत्रले अन्तर्राष्ट्रिय मञ्चमा एउटा अभूतपूर्व र ऐतिहासिक सफलता हासिल गरेको छ। फ्रान्समा भइरहेको विश्वप्रसिद्ध ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालका युवा निर्देशक अबिनास बिक्रम शाहद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले प्रतिष्ठित ‘जुरी प्राइज’ चुम्न सफल भएको हो।
महोत्सवको निकै महत्त्वपूर्ण मानिने ‘अन सर्टेन रिगार्ड’ विधा अन्तर्गत नेपाली फिल्मले यो ठुलो पुरस्कार प्राप्त गरेको हो। यो जित केवल एउटा चलचित्रको मात्र नभई समग्र नेपाली सिनेमा जगतकै लागि एउटा ऐतिहासिक कोसेढुङ्गा सावित भएको छ।
यो चलचित्र कान्स फिल्म फेस्टिभलको इतिहासमै उक्त प्रतिष्ठित विधामा छनोट हुने पहिलो नेपाली फिचर फिल्म बनेको थियो। छनोटको गौरवसँगै अहिले यो चलचित्र विधाकै सबैभन्दा ठुलो मध्येको एक मुख्य पुरस्कार हात पार्दै स्वदेश फर्कने तयारीमा रहेको छ।
चलचित्रको कथावस्तु नेपालको जङ्गल आसपास क्षेत्रमा बसोबास गर्ने किन्नर (तेस्रोलिङ्गी) समुदायको जीवनमा आधारित रहेको छ। यसले उक्त समुदायभित्रको प्रेम, जिम्मेवारीको भावना, पहिचानको लडाइँ र अस्तित्व रक्षाका लागि गरिने सङ्घर्षलाई निकै गहिराइ र मानवीय सम्वेदनाका साथ पर्दामा उतारेको छ।
यस ऐतिहासिक क्षणको साक्षी बन्दै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विश्व मञ्चमा नेपाली टोलीले देशको प्रतिनिधित्व गरेको र प्रतिष्ठित अवार्ड पाएको देख्दा शब्दमा वर्णन गर्न नसकिने भावुकता महसुस भएको बताएकी छन्। उनले नेपाली कथावाचनमा विश्वास गर्ने, सङ्घर्ष गर्ने र सपना देख्ने सम्पूर्ण सिर्जनशील हातहरूका लागि यो सामूहिक विजय भएको उल्लेख गरेकी छन्।
चलचित्रको प्रिमियर सो (विश्व प्रदर्शन) को अनुभव सुनाउँदै कार्यवाहक प्रमुख डंगोलले भनेकी छन्, 'म निकै ठुलो उत्साह र नेपाली सिनेमाका लागि यो क्षणको महत्त्व कति छ भन्ने शान्त चेतका साथ एलिफेन्ट्स इन द फगको प्रिमियर हलमा प्रवेश गरेकी थिएँ। चलचित्र प्रदर्शन हुनु अगाडि नेपाली टोलीले सामूहिक रूपमा बोकेको त्यो ऐतिहासिक क्षणको गम्भीरता, उत्साह र डर मैले नजिकबाट नियालेकी थिएँ र मलाई उनीहरू प्रति भित्रैदेखि गर्व लागेको थियो।'
उनका अनुसार तराईको एक किन्नर समुदायकी मुखिया ‘पिरती’ ले समाजमा माया, गुमाउनुको पीडा र आफ्नो समुदायलाई एकताबद्ध राख्न निभाएको मौन जिम्मेवारीको कथा यस चलचित्रमा दर्साइएको छ, जसमा दुर्लभ नैतिक वजन छ।
हलको बत्ती बलेपछि दर्शकहरूले दिएको प्रतिक्रियाबारे डंगोलले भनेकी छन्, 'चलचित्र सकिएर हलको बत्ती बल्दा दर्शकहरूले लगातार आठ मिनेटसम्म उठेर सम्मान प्रकट गरे, जसले यो चलचित्रलाई कति धेरै रुचाइयो भन्ने प्रमाणित गर्छ। हलबाट बाहिर निस्कँदा धेरैको आँखा रसाएका थिए, जसमा चलचित्रको टोली आफैँ पनि सामेल थियो। एउटा नेपाली कथाले अन्तर्राष्ट्रिय दर्शकहरूलाई त्यसरी पूर्ण रूपमा स्तब्ध बनाएर बाँधिरहेको हेर्न पाउनु मेरा लागि अहोभाग्य हो।'
नेपाली मौलिकता बोकेको कथालाई विश्वसामु पुर्याएर इतिहास रच्न सफल भएको भन्दै कार्यवाहक प्रमुख डंगोलले निर्देशक अबिनास बिक्रम शाह र ‘एलिफेन्ट्स इन द फग’ को सम्पूर्ण निर्माण समूहलाई हार्दिक बधाई समेत ज्ञापन गरेकी छन्।
.gif)

.png)

