हर्क साम्पाङको ‘प्लेकार्ड’ र रास्वपाको ‘नीलो स्कार्फ’ अमर्यादितः कांग्रेस सचेतक निश्कल राई


२०८३ जेठ ७ बिहीबार ११:५० बजे

काठमाडौँः नेपाली कांग्रेसले संसद्‌मा प्रधानमन्त्री बालेन शाहको उपस्थिति सुनिश्चित गराउनका लागि सभामुखसँग रुलिङको माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सचेतक निश्कल राईले सत्तापक्षलाई सङ्ख्याको दम्भ नदेखाउन कडा चेतावनी समेत दिएका छन्।

बैठकमा विशेष समय लिएर बोल्दै सचेतक राईले प्रमुख प्रतिपक्ष दलले सरकारलाई संसद् र जनताप्रति जिम्मेवार बनाउन लगातार प्रयास गरिरहेको बताए। तर, यस प्रक्रियामा सभामुखबाट आवश्यक सहयोग नमिल्नु र सरकारले संसद्लाई बेवास्ता गर्नु दुःखद भएको उनको भनाइ थियो।

पछिल्ला केही बैठकहरूमा अर्को प्रतिपक्षी दल (श्रम संस्कृति पार्टी) का अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको खोजी गर्दै संसद्‌मा प्लेकार्ड प्रदर्शन गरिरहेको सन्दर्भलाई जोड्दै राईले सभामुखको भूमिकामाथि प्रश्न उठाए। सभामुखले साम्पाङको उक्त कदमलाई ‘अमर्यादित’ भनी टिप्पणी गरेको प्रति उनले आपत्ति जनाए।

वर्तमान सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विगत सम्झाउँदै सचेतक राईले भने, ‘आज सत्ताको बागडोर सम्हालेको दल हिजो प्रतिपक्षको भूमिकामा हुँदा सरकारको जवाफदेहिता खोज्ने बहानामा घाँटीमा नीलो स्कार्फ बाँधेर वेल घेर्न पुगेको थियो। त्यति मात्र होइन, संसद्को गरिमा विपरीत वेलमै पलेँटी कसेर बस्ने र पुस्तक पढ्ने जस्ता हर्कतहरू पनि यही सत्तारुढ दलबाटै भएका थिए।’

त्यस समयमा हालका सभामुख आफैँ प्रतिपक्षको बेन्चमा रहेको स्मरण गराउँदै राईले आक्रोश पोखे। उनले भने, ‘त्यसबेला आफैँले गरेका ती उच्छृङ्खल कदमहरू संसदीय र मर्यादित हुने, अनि अहिले प्रतिपक्षमा रहेको दलले शान्तिपूर्ण रूपमा प्लेकार्ड देखाउँदा चाहिँ कसरी अमर्यादित भयो? त्यो विगतको कार्य पनि गलत थियो र अहिलेको व्यवहार पनि अमर्यादित भइरहेको छ भन्ने हाम्रो स्पष्ट ठहर हो।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७