परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा ताम्राकार
काठमाडाैं : सरकारी थिंक ट्यांकका रूपमा रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा रोजिना ताम्राकार नियुक्त भएकी छन्। सहसचिव ताम्राकारलाई परराष्ट्र मन्त्रालयले प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।
परराष्ट्रमामिला अध्ययन प्रतिष्ठान नेपाल सरकारको परराष्ट्र मन्त्रालयअन्तर्गत सञ्चालित एक प्रतिष्ठित थिंक-ट्याङ्क तथा अध्ययन अनुसन्धान गर्ने निकाय हो। यसले विशेषगरी नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र क्षेत्रीय तथा वैश्विक मामिलाहरूमा केन्द्रित रहेर काम गर्दछ। नेपालको हित अनुकूल परराष्ट्र नीति निर्माण गर्न र बदलिँदो वैश्विक राजनीतिक परिवेशमा नेपालले खेल्नुपर्ने भूमिकाबारे सरकार र परराष्ट्र मन्त्रालयलाई रणनीतिक सुझाव तथा प्रतिवेदनहरू उपलब्ध गराउनु यसको मुख्य काम हो।
यस प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कूटनीतिज्ञहरू, अध्येताहरू, र नीति-निर्माताहरूलाई एकै ठाउँमा ल्याएर समसामयिक अन्तर्राष्ट्रिय मामिला, सीमा सुरक्षा, आर्थिक कूटनीति, र भू-राजनीति जस्ता विषयहरूमा सेमिनार, कार्यशाला र संवादहरू आयोजना गर्दछ।
उनको परराष्ट्र सेवाको यात्रा २०६७ सालबाट सुरु भएको थियो, जहाँ उनी शाखा अधिकृतको परीक्षामा आदिवासी/जनजाति कोटाको वैकल्पिक सूचीमा परेकी थिइन्। त्यो बेला कुलबहादुर मगर, सविता नकर्मी र रामसिंह थापा सिफारिस हुँदा उनी बाहिरिनु परेको थियो। तर, हार नमानी लगातार दुई वर्षसम्म गरेको कडा मिहिनेत र प्रयास स्वरूप २०६९ सालमा महिला कोटाबाट उनी अन्ततः परराष्ट्र सेवाको शाखा अधिकृत पदमा प्रवेश गरेरै छाडिन्।
कुनै समय वैकल्पिक सूचीमा चित्त बुझाउनुपरेकी रोजिनाले सेवा प्रवेश गरेपछि भने आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै अगाडि बढ्ने रणनीति लिइन्। उनले कार्यक्षमता र ज्येष्ठताको आधारमा मात्र नभई आन्तरिक प्रतिस्पर्धालाई आफ्नो मुख्य हतियार बनाइन्। यसै क्रममा २०७६ साल साउनमा दुई पदका लागि भएको परराष्ट्र सेवाको उपसचिवको आन्तरिक प्रतिस्पर्धामा उनी उत्कृष्ट अंकका साथ दोस्रो नम्बरमा सिफारिस हुन सफल भइन्। उक्त विज्ञापनमा उनीसँगै धनुषाकै ज्ञानबहादुर मगर पहिलो नम्बरमा सिफारिस भएका थिए भने प्युठानका चित्रबहादुर केसी वैकल्पिकमा परेका थिए। उपसचिव बनेपछि पनि उनको व्यावसायिक र प्रतिस्पर्धी क्षमता झन् प्रखर बन्दै गयो।
हालै परराष्ट्र सेवाको सहसचिव पदका लागि तीन जनाको मागसहित भएको आन्तरिक प्रतिस्पर्धामा पनि रोजिनाले आफ्नो अब्बलता प्रमाणित गरिन्। लिखित परीक्षामा ईला मैनाली, रोशन खनाल, मोतिबहादुर श्रीस र उत्तमकुमार शाहीसँगै नाम निकालेकी रोजिनाले अन्तर्वार्तामा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो नम्बरमा सहसचिव पदका लागि आफ्नो नाम सिफारिस गराउन सफल भइन्। यस प्रतिस्पर्धामा ईला मैनाली पहिलो, रोशन खनाल दोस्रो र रोजिना तेस्रो नम्बरमा सिफारिस हुँदा मोतिबहादुर श्रीस वैकल्पिकमा परे भने उत्तमकुमार शाही सिफारिस हुन सकेनन्।
.gif)

.png)

