आरसिबीद्वारा कोलकाता ६ विकेटले पराजित
कोहलीको नवौँ शतक
काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले सानदार जित दर्ता गरेको छ। स्टार ब्याटर विराट कोहलीको सानदार शतकको मद्दतले आरसिबीले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै अङ्क तालिकाको शीर्ष स्थान कब्जा गरेको हो।
पछिल्ला दुई खेलमा लगातार शून्यमा आउट भएर दबाबमा रहेका कोहलीले यस खेलमा आलोचकहरूलाई कडा जवाफ दिएका छन्। उनले मात्र ६० बलमा अविजित १०५ रनको पारी खेल्दै आइपिएल करिअरको नवौँ शतक पूरा गरे। १ सय ९३ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १९.१ ओभरमा ४ विकेट गुमाएर जित हासिल गर्यो। देवदत्त पडिक्कलले ३९ रनको योगदान दिँदै कोहलीलाई बलियो साथ दिए भने अन्त्यमा जितेश शर्माले टोलीलाई जितको रेखा पार गराए।
यसअघि टस हारेर पहिले ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९२ रनको बलियो योगफल तयार पारेको थियो। कोलकाताका लागि युवा ब्याटर अंगकृष रघुवंशीले ७१ रनको विस्फोटक पारी खेले भने रिंकु सिंह ४९ रनमा अविजित रहे। क्यामरुन ग्रीनले ३२ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
एक समय ठूलो स्कोरतर्फ लम्किएको कोलकातालाई आरसिबीका बलरहरूले अन्तिम ओभरहरूमा रोक्न सफल भए। भुवनेश्वर कुमार र जोश हेजलवुडले कसिलो बलिङ गरेपछि १६ ओभरमा १५३ रन बनाएको कोलकाताले अन्तिम ४ ओभरमा मात्र ३९ रन जोड्न सक्यो। कोलकाताका कार्तिक त्यागीले ३ विकेट लिए पनि विराटको ब्याट अघि उनको प्रदर्शन छायामा पर्यो।
.gif)

.png)

