आइपिएलको शीर्ष चार समीकरण पूरा
मुम्बईलाई हराउँदै राजस्थान प्लेअफमा
काठमाडौँः इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्समाथि ३० रनको सानदार जित निकाल्दै राजस्थान रोयल्सले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ। आइतबार साँझ सम्पन्न रोमान्चक खेलमा राजस्थान विजयी भएसँगै पञ्जाब किंग्स भने जारी प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ। यस जितसँगै यस सिजनको आइपिएलमा अन्तिम चारमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ।
जारी प्रतियोगिताको अङ्क तालिकामा आरसीबी र गुजरात टाइटन्स शीर्ष दुई स्थान कब्जा गर्दै पहिलो क्वालिफायर खेल्न योग्य भएका छन्। यता तेस्रो र चौथो स्थानमा रहेका सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले भने फाइनल प्रवेशको ढोका खोल्न एलिमिनेटर खेलमा एकअर्काको सामना गर्नेछन्। यसपटक पञ्जाब, कोलकाता, चेन्नई, दिल्ली, मुम्बई र लखनउ खेलबाट बाहिरिँदै प्रतियोगिताबाट विदा भइसकेका छन्।
वांख्यडे रङ्गशालामा आइतबार भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरको निर्णयमा ८ विकेट गुमाउँदै २ सय ५ रनको बलियो योगफल तयार पारेको थियो। टोलीका लागि ध्रुव जुरेलले ३८ रन र यशस्वी जैसवालले २७ रनको योगदान दिए। त्यस्तै दसुन सनकाले २९ रन र जोफ्रा आर्चरले ३२ रन जोडे। खेलको अन्त्यतिर रविन्द्र जडेजा १९ रनमा नटआउट रहँदा कप्तान रियान परागले १४ र डोनोभान फेरेराले १८ रनको योगदान दिएका थिए।
जवाफी ब्याटिङमा २ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रिएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ७५ रन मात्रै बनाउन सक्यो। मुम्बईका लागि सूर्यकुमार यादवले ६० रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्। अन्य ब्याटरमा विल ज्याकले ३३ र हार्दिक पाण्ड्याले ३४ रन जोड्नु बाहेक अन्यले खासै सम्झनलायक प्रदर्शन गर्न सकेनन्।
अब तालिका अनुसार आगामी मे २६ मा हुने पहिलो क्वालिफायर भिडन्तमा बेंगलोरु र गुजरात आमनेसामने हुनेछन्। त्यसैगरी मे २७ मा हुने एलिमिनेटर खेलमा हैदराबाद र राजस्थानबीच कडा प्रतिस्पर्धा हुनेछ। उक्त एलिमिनेटर खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि बेंगलोरु र गुजरातबीचको खेलमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ।
.gif)

.png)

