आइपिएलमा राजस्थान विजयी, चेन्नई सुपर किङ्स पराजित


२०८२ चैत १७ मंगलबार ०७:३५ बजे

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपिएल) को नयाँ सिजन सुरु भए पनि चेन्नई सुपर किङ्सको ब्याटिङ समस्या अझै कायम छ।

सोमबार गुवाहाटीमा भएको खेलमा राजस्थान रोयल्सले चेन्नईलाई ८ विकेटले हराउँदै सहज जित हात पार्यो। पहिले ब्याटिङ गरेको चेन्नई १२७ रनमा अलआउट भयो।

जवाफमा राजस्थानले १२.१ ओभरमै २ विकेट गुमाएर १२८ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। १५ वर्षे युवा खेलाडी वैभव सूर्यवंशीले १५ बलमै अर्धशतक प्रहार गर्दै खेललाई एकतर्फी बनाए। यशस्वी जैसवाल ३८ रनमा अविजित रहे।

गुवाहाटीको पिच सुरुमा ब्याटिङका लागि चुनौतीपूर्ण थियो। टस जितेर बलिङ रोजेको राजस्थानले यसलाई राम्रोसँग उपयोग गर्‍यो। जोफ्रा आर्चर र नान्द्रे बर्गरले चेन्नईको शीर्षक्रम ध्वस्त पारे। बर्गरले दोस्रो ओभरमै सञ्जु स्याम्सनलाई आउट गरे भने आर्चरले रुतुराज गायकवाडलाई बोल्ड गरे।

दुवै ओपनर ६ रनमै आउट भएपछि चेन्नई दबाबमा आयो। आयुष म्हात्रे गोल्डेन डकमा आउट भए भने डेवाल्ड ब्रेभिस घाइते भएपछि मौका पाएका म्याथ्यू शर्ट पनि चाँडै आउट भए। ६ ओभरमा चेन्नईको स्कोर ३८–४ थियो।

राजस्थानका लागि रविन्द्र जडेजाले पनि उत्कृष्ट बलिङ गरे। उनले पहिलो ओभरमै दुई विकेट लिए—सरफराज खानलाई एल्बीडब्लू आउट र शिवम दुबेलाई क्याच आउट। तीन ओभरमा उनले १८ रन खर्चेर दुई विकेट लिएका थिए।

चेन्नई १०० रनभन्दा कममा अलआउट हुने अवस्थामा पुगेको थियो। तर जेमी ओभरटनले ३६ बलमा ४३ रन बनाएर टीमलाई १२७ रनसम्म पुर्‍याए। उनले अन्तिम विकेटका लागि अन्सुल कम्बोजसँग ३३ रनको साझेदारी गरे।

१२८ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि वैभव सूर्यवंशीको आक्रामक ब्याटिङ निर्णायक बन्यो। उनले १५ बलमै अर्धशतक पूरा गर्दै चेन्नई बलरमाथि दबाब सिर्जना गरे। राजस्थानले ८ विकेट बाँकी रहँदै लगभग १२.१ ओभरमै लक्ष्य पूरा गरी जित हात पार्यो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७