प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित


२०८३ बैशाख ३० बुधबार १३:३२ बजे

काठमाडौं : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठकमा तनाब उत्पन्न भएको छ। बुधबारको कार्यसूची अनुसार प्रधानमन्त्री शाहले सांसदहरूका जिज्ञासाको सम्बोधन गर्नुपर्ने भए तापनि उनी अनुपस्थित भएपछि विपक्षी दलहरूले सदन अवरुद्ध गरेका हुन्।

प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरिएपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टी लगायतका विपक्षी दलहरूले उठेर विरोध जनाएका थिए। विपक्षीको कडा अवरोधका कारण सभामुख डोलप्रसाद (डिपी) अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्नुपरेको छ।

बैठकमा शून्य समय सकिएलगत्तै सभामुखले अर्थमन्त्री वाग्लेलाई नीति तथा कार्यक्रमबारे बोल्न समय दिएपछि विपक्षी सांसदहरूले सदनको बेल घेराउ गर्दै विरोध प्रदर्शन गरेका थिए। विपक्षी दलका नेताहरूले सरकारको मुख्य नीति र कार्यक्रममा प्रधानमन्त्री नै उपस्थित नहुनु संसद्को अपमान भएको तर्क गर्दै प्रधानमन्त्रीको उपस्थिति बिना छलफल अगाडि बढ्न नसक्ने अडान राखेका थिए। उनीहरूले नियमावलीको दफा देखाएर प्रधानमन्त्रीले सधैं संसद्लाई छल्न नमिल्ने भन्दै आक्रोश व्यक्त गरे।

यता सत्तापक्षका सांसदहरूले भने प्रतिनिधि सभा नियमावलीको दफा ३८ को बचाउ गर्दै प्रधानमन्त्री उपस्थित हुन नसक्ने विशेष परिस्थितिमा उनले तोकेको मन्त्रीले जवाफ दिन पाउने कानुनी व्यवस्था रहेको जिकिर गरेका थिए। तर, विपक्षीले पाँच वर्षसम्म प्रधानमन्त्रीको आवाज सुन्न नपाइने हो भनी प्रश्न उठाउँदै नाराबाजी जारी राखेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। सत्तापक्ष र प्रतिपक्षबीचको यही जुहारी र विवादका बीच सदनको कारबाही अगाडि बढ्न नसकेपछि सभामुख अर्यालले बैठक स्थगित भएको घोषणा गरेका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७