१० सहकारीका सयभन्दा बढी ऋणीको नाम सार्वजनिक
यथाशीघ्र ऋण चुक्ता नगरे कानुन बमोजिम सरकारी बाँकी सरह असुली गरिने
काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रियालाई तीव्रता दिँदै ठूला ऋणीहरूको विवरण सार्वजनिक गर्न सुरु गरेको छ। समितिको मिति २०८३/०१/२३ को निर्णयअनुसार समस्याग्रस्त घोषित २० मध्ये १० वटा ठूला सहकारीका ऋणीहरूको पहिलो सूची बाहिर ल्याइएको हो। यस कदमले विशेषगरी घेदुङ, हाम्रो सगरमाथा, तपाईं हाम्रो, नागरिक कल्याण, आइडियल यमुना, तुलसी, नेपाल वित्तीय, ओरियन्टल, गौतम श्री र नेपाल सहकारी वित्तीयका ऋणीहरूलाई कानुनी दबाबमा पारेको छ।
समितिले सूचनामार्फत स्पष्ट पारेको छ कि ऋणीहरूले यथाशीघ्र सम्पर्क गरी ऋण राफसाफ नगरे कानुनबमोजिम कडा असुली प्रक्रिया (जस्तै धितो लिलामी वा राहदानी रोक्का) अगाडि बढाइनेछ। यो पारदर्शिताले अलमलमा रहेका बचतकर्तामा केही आशा जगाउनुका साथै अन्य ऋणीहरूलाई पनि स्वतः स्फूर्त रूपमा ऋण तिर्न मनोवैज्ञानिक दबाब सिर्जना गर्ने देखिन्छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय, बुद्धनगरले हालसम्म समस्याग्रस्त घोषित सहकारीमध्ये १० वटा संस्थाका ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिको २०८३ वैशाख २३ गतेको बैठकको निर्णयअनुसार, बचतकर्ताको रकम अपचलन गर्ने र लामो समयसम्म ऋण नतिर्ने व्यक्ति तथा संस्थाहरूको नाम सार्वजनिक गरिएको हो।
कुन सहकारीका कति ऋणी?
- घेदुङ बहुउद्देश्यीय सहकारी: रमेश बुढाथोकी, कुमार सिंह घिसिङ, अमित कुमार तामाङसहित ५ जना।
- हाम्रो सगरमाथा बहुउद्देश्यीय: नारायण बहादुर रायमाझी, राम कृष्ण कार्की, शिव कुमार कार्की, सिंह बहादुर तामाङ, अमृतमान घले र बसामडी-मकवानपुरका सन्तोष पौडेलसहित १० जना।
- तपाईं हाम्रो बहुउद्देश्यीय: सबिना लामा, मनोज दुलाल, सुरेन्द्र लाल श्रेष्ठ, लक्ष्मी प्रसाद पौडेल, सञ्जय कुमार ठाकुरसहित १० जना।
- नागरिक कल्याण बहुउद्देश्यीय: सरिता सापकोटा, राम प्रसाद पौडेल, शिव शरण शाही, प्रान्जलि पोखरेल, गणेश पाण्डेसहित १२ जना।
- आइडियल यमुना बहुउद्देश्यीय: भक्त बहादुर बुढाथोकी, गोविन्द पुरी, उमेश खत्री, प्रकाश गोतामे, धनिलाल राईसहित १० जना।
- नेपाल सहकारी वित्तीय: कृष्ण बहादुर कुँवर, गौतम डङ्गोल, महेश कुमार अर्याल, सुनिता अर्यालसहित १० जना।
- गौतम श्री सहकारी: रामजी अवाल, शिव चन्द्र झा, रामचन्द्र अधिकारी, अनुराग पहाडीसहित ११ जना।
- ओरियन्टल को-अपरेटिभ: सर्बेस मरासिनी, अनिल श्रेष्ठ, शारदा श्रेष्ठ, सुरेन्द्र मगर र कृष्ण प्रसाद श्रेष्ठ (ललितपुर र मैतीदेवी क्षेत्रका)।
- नेपाल वित्तीय सहकारी: कृष्ण बहादुर कुँवर, भुपेन्द्र पाकुवाल, सञ्जय कुमार यादव, लोकनाथ गौतमसहित १० जना।
- तुलसी बहुमुखी सहकारी: तुलसी मोटरपम्प, नटराज एग्रो प्रालि, तुलसी कृषि अनुसन्धान केन्द्र, गोरखा टी एण्ड कफी इन्डष्ट्रिज, अशोक कुमार अग्रवाल (विराटनगर) सहित १० जना।
समितिले सूचना जारी गर्दै उल्लेखित ऋणीहरूलाई तत्काल समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न आह्वान गरेको छ। "यथाशीघ्र ऋण चुक्ता नगरे कानुन बमोजिम सरकारी बाँकी सरह असुली गरिने र अन्य ऋणीहरूको नामावली पनि क्रमशः सार्वजनिक गरिनेछ," सूचनामा भनिएको छ।
यसअघि २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिएकोमा बाँकी १० वटा सहकारीका ऋणीहरूको नाम पनि अर्को चरणमा सार्वजनिक गर्ने समितिको तयारी छ। ऋणीहरूले अटेर गरेमा उनीहरूको बैंक खाता रोक्का, चल-अचल सम्पत्ति रोक्का तथा राहदानी जफतसम्मका कानुनी प्रक्रिया अपनाइने समितिले जनाएको छ।
.gif)

.png)

