अदालतको आदेश : फिल्म ‘लालीबजार’को सेन्सर बोर्डको फाइल झिकाउनु
काठमाडौँ : उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’लाई प्रदर्शन गर्न अनुमति दिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र जाँच समितिले गरेको निर्णयको सक्कल फाइल मगाएको छ । साथै अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता समेत दिएको छ ।
यसअघि ‘लाली बजार’ चलचित्र प्रदर्शन रोक्न माग गर्दै दायर भएको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले कारण देखाऊ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतले १५ वैशाखमा तत्कालको लागि प्रदर्शन रोक्न आदेश दिएको थियो । अदालतले वादी र प्रतिवादी दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।
वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् । यम थापा निर्देशित फिल्म १८ वैशाखदेखि प्रदर्शन तयारीमा थियो । षट्कोण आर्टस्ले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ । अल्पकालीन अन्तरिम आदेशपछि ‘लाली बजार’को ‘प्रिमियर सो’ समेत रोकिएको थियो ।
.gif)

.png)

