पर्दाको ‘सरकार’ले सम्हाल्दै तमिलनाडुको वास्तविक सत्ता

दशकौँदेखि तमिलनाडुको सत्तामा हालीमुहाली गरिरहेका ‘डीएमके’ र ‘एआईएडीएमके’ जस्ता शक्तिशाली दलहरूसँग कुनै गठबन्धन नगरी उनी एक्लै अघि बढे। शानदार विजय हासिल गरे ।


२०८३ बैशाख २२ मंगलबार ११:३२ बजे

काठमाडौं : सन् २०१८ को नोभेम्बरमा जब दक्षिण भारतीय सुपरस्टार  अभिनेता सी. जोसेफ विजय चलचित्र ‘सरकार’ प्रदर्शनमा आयो, त्यसले तमिलनाडुको राजनीतिमा एउटा काल्पनिक तर शक्तिशाली तरंग पैदा गर्‍यो। सिनेमामा विजयले ‘सुन्दर रामास्वामी’ नामक एक सफल गैरआवासीय भारतीय व्यापारीको भूमिका निर्वाह गरेका थिए, जो केवल आफ्नो मताधिकार प्रयोग गर्न भारत फर्कन्छन्। मतदान केन्द्रमा पुग्दा आफ्नो मत अर्कैले खसालिदिएको थाहा पाएपछि सुरु भएको उनको संघर्षले अन्ततः उनलाई भ्रष्ट स्थापित नेताहरू विरुद्ध चुनावी मैदानमा उतार्छ र उनले जीत हासिल गर्छन्।

त्यो बेला यो केवल पर्दाको काल्पनिक कथा थियो, तर ठ्याक्कै आठ वर्षपछि सन् २०२६ मा आइपुग्दा यो कथा विजयको वास्तविक जीवनको प्रतिलिपि बन्न पुगेको छ।  विजयले सन् २०२४ को फेब्रुअरीमा आफ्नो सफल फिल्मी करिअरलाई थाँती राख्दै ‘तमिलागा वेत्रि झागाम’ (टिभीके) नामक राजनीतिक दलको घोषणा गरे। उनको पछाडि न कुनै ठुलो राजनीतिक घराना थियो, न त कुनै वरिष्ठ नेताको साथ। दशकौँदेखि तमिलनाडुको सत्तामा हालीमुहाली गरिरहेका ‘डीएमके’ र ‘एआईएडीएमके’ जस्ता शक्तिशाली दलहरूसँग कुनै गठबन्धन नगरी उनी एक्लै अघि बढे।

सन् २०२४ फेब्रुअरी २ मा निर्वाचन आयोगमा दर्ताका लागि आवेदन दिएको ‘तमिलग वेत्री कझगम’ (टिभीके) ले सोही वर्षको सेप्टेम्बर ८ मा आधिकारिक मान्यता प्राप्त गरेको थियो । गठन भएको दुई वर्षभित्रै यो पार्टी अहिले राज्यमा सरकार बनाउने बलियो स्थितिमा आइपुगेको छ।पार्टी स्थापनाको दुई वर्षसम्म उनले र उनको टोलीले २ सय ३४ वटै निर्वाचन क्षेत्रमा बुथ तहसम्मै संगठन विस्तार गरे। सन् २०२४ को अक्टोबरमा भएको पार्टी सम्मेलनमा देखिएको जनसागरले नै विजयको राजनीतिक भविष्यको संकेत गरिसकेको थियो।

सन् २०२६ को मे ४ (हिजो सोमबार) मा जब विधानसभा निर्वाचनको मतगणना सुरु भयो, त्यसले सबैलाई स्तब्ध बनायो। अभिनेता विजयको पार्टी ‘टिभीके’ १ सय भन्दा बढी स्थानमा अग्रता कायम गर्दै पहिलो शक्ति बन्ने दिशामा देखियो। सन् २०२१ देखि सत्तामा रहेको डीएमके सत्ता पक्ष भएर पनि टिभीकेभन्दा निकै पछाडि धकेलियो।

यस सफलताको पछाडि मतदाताहरूको अभूतपूर्व सहभागिता मुख्य कडी बन्यो। यस पटक तमिलनाडुको इतिहासकै सर्वाधिक ८५.१ प्रतिशत मतदान भयो। कुनै समय विजयले सिनेमाको पर्दाबाट जनतालाई ‘जाऊ र भोट हाल’ भनी गरेको आह्वान यस पटक वास्तविक जीवनमा चरितार्थ भयो। विशेष गरी महिला, विद्यार्थी र पहिलो पटक मतदान गर्ने युवाहरूको उत्साहजनक उपस्थिति नै विजयको जीतको मुख्य आधार बन्यो।

फिल्म, सञ्चारमाध्यम र साहित्यले समेत ओझेलमा पारेका चुनावी धाँधली, स्वास्थ्य क्षेत्रको भ्रष्टाचार, महिला खेलकुद र किसानका मुद्दाहरूलाई उनले आफ्ना फिल्मको मुख्य आधार बनाए। यसरी पर्दामार्फत जनताका आधारभूत समस्याहरूसँग आफूलाई जोड्दै उनले आफ्नो छवि एक महानायकको रूपमा स्थापित गरे। 

विशेष गरी, एच. विनोदद्वारा निर्देशित र केभीएन प्रोडक्सन तथा थेस्पियन फिल्म्सद्वारा निर्मित फिल्म ‘जननायक’ को कथानक यस्तै एउटा संघर्षशील नेताको वरिपरि घुम्छ । सन् २०२६ को सुरुमा पोङ्गलको अवसरमा रिलिज हुने तयारीमा रहेको यो फिल्म सेन्सर बोर्डको चासो र चुनावी आचारसंहिताका कारण पटक-पटक स्थगित भयो।

प्रचारमा प्रविधि

विजयको चुनावी अभियान प्रविधिको अभूतपूर्व प्रयोगका कारण निकै चर्चामा रह्यो । उनले चुनावी सभाहरूमा ‘होलोग्राम’ प्रविधिको व्यापक प्रयोग गरे, जसलाई सन् २०२४ मा प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक अभ्यासमा ल्याएका थिए ।

मोदीले पछि यसको प्रयोग कम गरे पनि विजयले भने तमिलनाडुका गाउँगाउँमा होलोग्राममार्फत आफ्नो उपस्थिति जनाएर मतदातामाझ छुट्टै क्रेज पैदा गरे। जहाँ उनी भौतिक रूपमा पुग्न सक्दैनथे, त्यहाँ होलोग्राममार्फत पुगेर सर्वसाधारणसँग संवाद गर्ने शैलीले निकै प्रभाव पार्‍यो

प्रविधिसँगै विजयले फिल्म क्षेत्रको ‘बडी डबल’ अवधारणालाई पनि प्रचारको हिस्सा बनाए। फिल्मका जोखिमपूर्ण दृश्यमा प्रयोग गरिने जस्तै देखिने पात्रहरूलाई उनले चुनावी मैदानमा उतारे, जसले गर्दा मतदाताहरूले आफ्नै बीचमा विजय आएको महसुस गरे ।

यसका साथै, उनले आफ्नै स्वरूपका ‘म्यानिकिन’ हरूको पनि प्रयोग गरे। निर्वाचन आयोगले सन् २०२६ जनवरी २२ मा प्रदान गरेको ‘सिठी’ (ह्विसल) चिन्हलाई उनले जनस्तरसम्म पुर्‍याउन होलोग्राम र अडियोको प्रभावकारी संयोजन गरे।

उनको चुनावी चिन्हलाई लोकप्रिय बनाउन ‘के तपाईं सिठी बजाउन तयार हुनुहुन्छ ?’ भन्ने आह्वान र ‘ह्विसल पोडु’ गीतले महत्त्वपूर्ण भूमिका खेल्यो, जसलाई युट्युबमा ८ करोडभन्दा बढी पटक हेरियो ।

विजयले घरबाहिर ‘अल्पना’ (रङ्गोली) बनाउँदा सिठीको आकार दिन र बालबालिकामार्फत अभिभावकलाई मतदानका लागि प्रेरित गर्न सिठी बजाउन लगाएको आग्रह सामाजिक सञ्जालमा ‘रील’ का रूपमा भाइरल भयो । सेतो शर्ट र खाकी पाइन्टको उनको ‘युनिफर्म’ समर्थकहरूको पहिचान बन्यो । मतगणनाको रुझानसँगै कार्यकर्ताहरूले ओठमा सिठी राखेर बजाउँदै विजयको यो भुइँतहको प्रचार शैलीको सफलतालाई उत्सवका रूपमा मनाएका देखिन्थे ।

प्रशान्त किशोरको भूमिका

टिभीकेको चुनावी रणनीतिलाई मूर्तरूप दिन प्रख्यात रणनीतिकार प्रशान्त किशोरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सन् २०२५ फेब्रुअरी १० मा चेन्नईमा आयोजित एक विशेष सत्रमार्फत उनले टिभीके पदाधिकारीहरूलाई चुनावी विजयका सूत्रहरू सिकाएका थिए । आफ्नै ‘जन सुराज’ अभियानमा व्यस्त रहे पनि किशोरले तमिलनाडुको चुनावी अभियानलाई विशेष प्राथमिकतामा राख्दै रणनीतिक सहयोग उपलब्ध गराए।

रणनीतिकै क्रममा किशोरले सत्तारुढ द्रमुक नेताहरूले उत्तर भारतीय श्रमिकविरुद्ध दिएका विवादास्पद अभिव्यक्तिलाई मुख्य मुद्दा बनाए । द्रमुक सांसद दयानिधि मारनले बिहार र उत्तर प्रदेशका मानिसहरूका बारेमा दिएको टिप्पणीलाई उनले ‘द्रविड अहंकार’ को रूपमा चित्रित गरे। यसले एकातिर द्रमुकलाई रक्षात्मक बनायो भने अर्कातिर टिभीकेलाई समावेशी र न्यायपूर्ण शक्तिका रूपमा उभ्याउन मद्दत पुर्‍यायो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७