भारतीय विदेश सचिव मिश्री काठमाडौं आउँदै
काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिश्री वैशाखको अन्तिम साता नेपाल आउने भएका छन् । काठमाडौँ वालेन्द्र शाहको नेतृत्वमा १३ चैतमा नयाँ सरकार गठन भएयता विदेशका उच्च अधिकारीहरू आउने क्रम जारी छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यही क्रममा भारतीय विदेश सचिव मिश्रीले वैशाख ३० देखि ३१ गतेसम्म नेपालको भ्रमण गर्नेछन् । बालेन्द्र शाह गत १३ गते प्रधानमन्त्री भएपछि भारतबाट नेपाल आउन लागेका विदेश सचिव मिश्री सबैभन्दा उच्चस्तरीय पाहुना हुन् ।
परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार भारतीय पक्षले विदेश सचिव विक्रम मिश्रीको भ्रमणका लागि ३०–३१ वैशाखको मिति प्रस्ताव गर्दै पत्राचार गरेको थियो । भ्रमणलाई औपचारिकता दिन परराष्ट्र सचिव अमृतबहादुर राईका तर्फबाट मिश्रीलाई औपचारिक निमन्त्रणा पठाइसकिएको छ ।
भारतीय विदेश सचिव मिश्रीको प्रधानमन्त्री शाहसँग भेट बारे टुंगो लागि सकेको छैन । यसअघि नेपाल भ्रमणमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका लागि सहायक विदेशमन्त्री समीर पल कपुरलाई प्रधानमन्त्री शाहले भेटेनन् ।
हालै मोरिससमा आयोजित एक कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको थियो । उक्त भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमणका विषयमा समेत छलफल भएको मन्त्री खनालले नेपाल फर्किएपछि बताएका थिए ।
.gif)

.png)

