लुम्बिनी प्रदेशको भूमि व्यवस्था मन्त्रालयका पूर्वसचिव सहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२०८३ बैशाख २ बुधबार १६:१६ बजे

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवसहित १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा निर्माणाधीन शीतभण्डार आयोजनामा अनियमितता गरी ७१ लाख ९७ हजार ९८० रुपैयाँ ६ पैसा भुक्तानी गरिएको ठहरसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार आर्थिक वर्ष ०७६/७७ मा स्वीकृत बजेटअनुसार शीतभण्डार निर्माणका लागि भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थासँग अनुदान सम्झौता भएको थियो। कुल ५ करोड ४३ लाख ७९ हजार ९३९ रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजनामा मन्त्रालयले ७५ प्रतिशत र सहकारीले २५ प्रतिशत व्यहोर्ने सहमति भएको थियो।

अनुसन्धानका क्रममा परामर्शदाता संस्था मेगा माइन्ड्स आर्किटेक्ट्स एण्ड स्ट्रक्चरले अस्वाभाविक लागत अनुमान तयार पारेको पाइएको छ । साथै सार्वजनिक खरिद ऐनविपरीत प्रतिस्पर्धाबिनै काम गराइएको पाइएको आयोगले जनाएको छ । 

मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारी, वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपालीले गलत नापजाँच प्रतिवेदन र झुट्टा बिलका आधारमा बदनियतपूर्वक भुक्तानी दिएको आयोगको दाबी छ।

यस प्रकरणमा तत्कालीन लेखा अधिकृत लक्ष्मण पौडेल, सह–लेखापाल अजय मिश्र तथा परामर्शदाता संस्थाका सञ्चालक सुगम कोइरालाविरुद्ध पनि मुद्दा दायर गरिएको छ । साथै विभिन्न ९ सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकहरूलाई मतियारका रूपमा प्रतिवादी बनाइएको छ । 

मृत्यु भइसकेका दुई प्रतिवादीका हकमा भने उनीहरूका श्रीमतीबाट बिगो असुल गर्न माग गरिएको छ। हाल उक्त शीतभण्डार अपूर्ण, जीर्ण तथा प्रयोगविहीन अवस्थामा रहेको जनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७