पाटन घटना : हत्यापछि भाग्दै गरेकालाई पक्राउ गर्ने प्रहरी जवान शाहाना सम्मानित


२०८२ चैत ३० सोमबार ०४:४९ बजे

काठमाडौं : पाटनको कृष्णमन्दिर क्षेत्रमा चक्कु प्रहारपछि भाग्दै गरेका आरोपीलाई नियन्त्रणमा लिने साहस देखाएकी प्रहरी जवान शाहाना बोहरा सम्मानित भएकी छन्।

गत चैत २५ गते साँझ पाटनको कृष्णमन्दिर क्षेत्र सामान्य अवस्थामा रहेकै बेला करिब ७:३० बजेतिर चक्कु प्रहार भएको खबर फैलिएपछि क्षेत्र तनावपूर्ण बनेको थियो। मंगलबजार चोकमा पिकेट ड्युटीमा खटिएको प्रहरी टोली तत्काल घटनास्थलतर्फ पुगेको थियो।

घटनास्थलमा पुग्दा सुमित नेम्बाङ र उनका भाइ सिर्जन नेम्बाङ गम्भीर अवस्थामा घाइते भएर ढलेका थिए। सोही समयमा स्थानीयले चक्कु बोकेर भाग्दै गरेको सन्जीव नेपालीतर्फ संकेत गरेपछि उनलाई नियन्त्रणमा लिने प्रयास सुरु गरिएको थियो।

प्रहरी जवान शाहाना बोहराले हातमा लाठी लिएर करिब २०० मिटरसम्म आरोपीको पछ्याउँदै पटक–पटक रोक्न चेतावनी दिएकी थिइन्। तर आरोपीले बेवास्ता गर्दै उल्टै चक्कुले आक्रमण गर्ने प्रयास गरेको जनाइएको छ।

जोखिमका बीच पनि पछि नहटी उनले लगातार दबाब सिर्जना गर्दै आरोपीलाई नियन्त्रणमा लिन प्रयास जारी राखेकी थिइन्। भाग्दै जाँदा आरोपी एक रेष्टुरेन्टभित्र छिरेपछि उनले तत्काल ढोका थुनेर बाहिर निस्कन नदिई नियन्त्रणको स्थिति बनाएकी थिइन्।

त्यसपछि थप प्रहरी टोली बोलाएर केही मिनेटमै सन्जीव नेपालीलाई चक्कुसहित नियन्त्रणमा लिइएको थियो। उनले सुमित र सिर्जन नेम्बाङमाथि चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भएका दुवैलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

हतियारसहितका आरोपीलाई आफ्नो ज्यानको जोखिम मोलेर नियन्त्रणमा लिएको भन्दै प्रहरी जवान बोहराको प्रशंसा गर्दै संगठनको प्रतिष्ठा उकास्ने उदाहरणका रूपमा उल्लेख गर्दै पुरस्कृत गरेको जनाएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७