ट्रकको छतमा लुकाएको १ हजार २४० किलो गाँजा बरामद
काठमाडौं : धनकुटाको सागुरीगढी गाउँपालिका–६ फेदीस्थित कोशी लोकमार्गबाट प्रहरीले १ हजार २४० किलो गाँजा बरामद गरेको छ । मंगलबार राति धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको मालवाहक ट्रकलाई गस्तीमा रहेको सशस्त्र प्रहरीले जाँच गर्न खोज्दा चालक ट्रकसहित फरार भएका थिए ।
त्यसपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस मुलघाटबाट सशस्त्र प्रहरी निरीक्षक मानबहादुर खड्काको कमान्डमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ट्रकलाई पछ्याउँदै कोशी लोकमार्गबाटै नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार ट्रकको छतमा लुकाएर ३८ बोरामा गाँजा लैजाँदै गरिएको अवस्थामा बरामद गरिएको हो । ट्रक नियन्त्रणमा लिए पनि चालक भने फरार रहेका छन् । बरामद गाँजा र ट्रकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
.gif)

.png)

