केपी ओलीलाई मार्ने योजना थियो : राधिका शाक्य
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको बालकोटस्थित आफ्नो घरको अवलोकन गरेका छन् । गत वर्ष भदौ २४ गते आफ्नो घरमा आगजनी भएको एक वर्ष पूरा भएको दिन बुधबार ओली पत्नी राधिका शाक्यसँगै बालकोटस्थित घरको भग्नावशेषमा पुगेका हुन् । सो अवसरमा राधिका शाक्यद्वारा लिखित ‘स्मृतिमा बालकोट घर–सपनाको भग्नावशेष’ स्मृति पुस्तिकासमेत सार्वजनिक गरिएको थियो ।
पुस्तक सार्वजनिक कार्यक्रममा राधिकाले गत वर्ष भदौ २४ गते घर–सम्पत्ति जलाउनुमा मात्र सीमित नभई केपी शर्मा ओलीको हत्या गर्ने आपराधिक योजना रहेको दाबी गरिन् । लाखौँ देशभक्त नेपालीको माया र भरोसाका कारण आफूहरू बाँच्न सफल भएको उनको भनाइ थियो । राधिकाले आफूहरूलाई कुनै अपराध र कसुरबिनै अपराधीका रूपमा चित्रित गरेर भदौ २४ गतेदेखि निरन्तर भ्रम फैलाउने र मानसिक तनाव दिने काम भइरहेको आरोप लगाइन् । हालैको ठूलो प्राकृतिक विपद्का कारण नागरिक मर्माहत भइरहेका बेला पनि केपी ओलीमाथि विभिन्न आरोप लगाएर राजनीति गरिएको भन्दै उनले आपत्ति जनाइन् ।
केपी ओलीको विरोध वर्षौँदेखि हुँदै आएको उल्लेख गर्दै राधिकाले त्यसले आफूहरूलाई व्यक्तिगत रूपमा कुनै फरक नपार्ने बताइन् । गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बालकोटस्थित ओलीको घरमा आगजनी भएको थियो । त्यसको एक वर्ष पूरा भएको अवसरमा ओली दम्पती घरको भग्नावशेष अवलोकन गर्न पुगेका हुन् ।
.gif)

.png)

