आगलागीबाट तीन जना घाइते : घाइतेको हेलिकोप्टरबाट उद्धार
काठमाडौँ : जाजरकोटको नलगाड नगरपालिका–२, छेप्कामा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागी भएको छ । उक्त घटनामा तीनजना घाइते भएका छन् । घाइते भएका जाजरकोटका तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
घाइतेहरूलाई आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो। उनीहरूलाई व्यक्तिगत खर्चमा करिब ४ लाख ५ हजार रुपैयाँ तिरेर स्थानान्तरण गरिएको जनाइएको छ।
घटना आइतबार बिहान करिब १० बजे नलगाड नगरपालिका–२ छेप्कास्थित थालुप्रसाद जैशीको भान्सा कोठामा भएको हो। खाना पकाउने क्रममा ग्यास लिक भएपछि आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीमा परी ४२ वर्षीया माया जैशी, उनका २२ वर्षीय छोरा गणेश गौतम र ३७ वर्षीया बहिनी रुपा जैसी घाइते भएका छन्। लाइटरले आगो बाल्ने क्रममा अचानक आगो फैलिएको बताइएको छ।
प्रारम्भिक उपचारका लागि उनीहरूलाई नलगाड नगर अस्पताल लगिएको थियो। घाइतेमध्ये दुई महिलाको अवस्था गम्भीर रहेको छ। परिवारका अनुसार नेपालगञ्जबाट उनीहरूलाई जहाजमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ।
.gif)

.png)

