इजरायल-इरान युद्ध अन्त्यका लागि चीन–पाकिस्तानको ५ बुँदे प्रस्ताव
काठमाडौं : पश्चिम एशियामा जारी द्वन्द्व अन्त्य गर्दै शान्ति र स्थिरता कायम गर्न चीन र पाकिस्तानले पाँचबुँदे प्रस्ताव सार्वजनिक गरेका छन्।
बेइजिङमा भएको उच्चस्तरीय वार्तापछि जारी संयुक्त वक्तव्यमा दुवै देशले तत्काल युद्धविरामको अपिल गर्दै द्वन्द्व थप फैलिन नदिन आग्रह गरेका छन्। सो क्रममा पाकिस्तानी विदेशमन्त्री इसहाक डार र चिनियाँ विदेशमन्त्री वाङ यीबीच क्षेत्रीय अवस्थाबारे छलफल भएको थियो।
संयुक्त वक्तव्यमा सम्बन्धित पक्षहरूबीच वार्ता सुरु गर्न समर्थन गर्दै बल प्रयोग वा त्यसको धम्कीबाट टाढा रहन आग्रह गरिएको छ। दुवै देशले संवाद र कूटनीतिलाई नै द्वन्द्व समाधानको व्यवहारिक उपायका रूपमा जोड दिएका छन्।
प्रस्तावित पाँचबुँदे योजनामा तत्काल युद्धविराम, शान्ति वार्ता सुरु, नागरिक सुरक्षाको सुनिश्चितता, रणनीतिक समुद्री मार्गको सुरक्षा र अन्तर्राष्ट्रिय कानुनको पालना समेटिएको छ।
योजनाअनुसार युद्ध तत्काल रोक्ने, सबै पक्षबीच संवाद अघि बढाउने, सर्वसाधारणमाथि हुने आक्रमण अन्त्य गर्ने, होर्मुज जलमार्ग सुरक्षित राख्ने र संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार दीर्घकालीन शान्ति सम्झौता गर्ने विषय समावेश छन्।
पश्चिम एशियाको द्वन्द्वमा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका देखाउन खोजेको छ भने चीनले कूटनीतिक समर्थन जनाउँदै सक्रियता बढाएको छ। दुवै देशले संवाद र सहकार्यमार्फत क्षेत्रीय तनाव समाधान गर्ने प्रयासलाई प्राथमिकता दिएका छन्।
.gif)

.png)

