चुनावी परिणाम हार नभई भविष्यको लागि मूल्यवान बीउ : कुलमान घिसिङ


२०८२ चैत १ आइतबार १७:०१ बजे

काठमाडौं : कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन, २०८२ को समग्र समीक्षा र आगामी राजनीतिक कार्यदिशा तय गर्न दुई दिने विशेष समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । 

पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय समिति सदस्य, प्रतिनिधिसभा उम्मेदवार, प्रदेश र जिल्ला संयोजक तथा विभिन्न तहका जिम्मेवार नेता र कार्यकर्ताहरूको सहभागिता रहेको थियो । 

समीक्षा कार्यक्रमको पहिलो दिन उम्मेदवार, प्रदेश र जिल्ला संयोजकबीच गहन छलफल भएको थियो । छलफलमा निर्वाचनको अनुभव, जनसम्पर्कको स्वरूप, सङ्गठन विस्तारका सम्भावना, मतदाताको मनोविज्ञान, प्रचारप्रसारका चुनौती, र छोटो समयमै पार्टीले निर्माण गरेको राष्ट्रिय उपस्थितिको विस्तृत विश्लेषण गरिएको थियो ।  सहभागीहरूले सीमित स्रोत र प्रारम्भिक सङ्गठनात्मक अवस्थाबाहेक पनि उज्यालो नेपाल पार्टीले देशव्यापी रूपमा सम्मानजनक मत प्राप्त गरेकोमा सन्तुष्टि व्यक्त गरेका थिए । 

दोस्रो दिनको छलफलमा पहिलो दिनका समीक्षा प्रस्तुत गर्दै आगामी दिनमा पार्टीलाई व्यवस्थित, वैचारिक रूपमा स्पष्ट, सङ्गठनात्मक रूपमा सुदृढ र जनतासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय मूलधारको शक्ति बनाउने साझा निष्कर्ष निकालिएको प्रवक्ता राजु थापाले जानकारी दिए । 

बैठकले पार्टीको सङ्गठन निर्माण, सचिवालय, विभाग, आयोग, सल्लाहकार समिति, प्रवास समिति, तथा प्रदेश, जिल्ला र स्थानीय तहसम्मको संरचना व्यवस्थित, दिगो र कार्यमुखी बनाउनेमा विशेष जोड दिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुलमान घिसिङले प्राप्त जनमतलाई हारको रूपमा नभइ भविष्यको उज्यालो यात्राका मूल्यवान बीउका रूपमा ग्रहण गर्नुपर्ने बताए । उनले चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीले देशभर उल्लेखनीय सदभाव, विश्वास र जनसमर्थन प्राप्त गरेको भन्दै यस आधारमा सङ्गठन विस्तार, सदस्यता अभिवृद्धि, डिजिटल अभियान, स्थानीय जनसम्पर्क, र आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिने बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७