रास्वपाबाट जनताको आशा पूरा हुँदैन, अबको विकल्प हाम्रो पार्टी हो : कुलमान घिसिङ

‘रास्वपाको नीलो क्रान्ति धेरैदिन टिक्दैन, अब हामी हरित क्रान्ति गर्छौं’


२०८३ जेठ २२ शुक्रबार १५:०७ बजे

काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जनताको आशा र भरोसा पूरा हुन नसक्ने दाबी गरेका छन्। पार्टीको प्रथम युवा भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले 'नयाँ' भनिएका शक्तिहरूको कामकारबाही सन्तोषजनक नभएको टिप्पणी गरेका हुन्।

वर्तमान सरकार सफल होस् भन्ने आफ्नो कामना रहे पनि यसले जनताको भावना अनुसार काम गर्न नसकेको उनको आरोप छ। 'जनताले परिवर्तन खोजिरहेका छन् र त्यसका लागि दुई तिहाइको बलियो मत पनि दिएका छन्,' अध्यक्ष घिसिङले भने, 'यो सरकार सफल होस् भन्ने हाम्रो सुझाव छ, तर सरकारले राम्रोसँग काम गर्न सकेन भनेर हामी जनतालाई निराश हुन दिँदैनौँ। जनसरोकारका विषयमा हामी सशक्त प्रतिवाद गर्छौँ र जनताका समस्या सम्बोधन गर्न अघि बढ्छौँ।' 

उनले देशमा 'नयाँ' को विकल्प 'पुरानो' शक्ति हुन नसक्ने जिकिर गर्दै रास्वपा जस्ता दलहरूको वास्तविक र भरपर्दो विकल्प उज्यालो नेपाल पार्टी नै भएको दाबी गरे। आउँदो स्थानीय तथा प्रदेश तहको निर्वाचनमा आफ्नो पार्टी स्पष्ट कार्ययोजनासहित जनतामा जाने उनको भनाइ छ।

पछिल्लो संसदीय निर्वाचनको समीक्षा गर्दै उनले छोटो समयको तयारी र विभिन्न राजनीतिक षड्यन्त्रका कारण आफ्नो पार्टीले सोचेजस्तो चुनावी नतिजा ल्याउन नसकेको स्वीकार गरे। 'हामीले उज्यालो नेपाल पार्टीका उम्मेदवारहरूलाई जिताउन सकेनौँ, तर हाम्रो पार्टी हारेर पनि जितेको पार्टी हो,' उनले थपे, 'अहिले हरेक नागरिकको मनमा उज्यालो नेपाल पार्टीप्रति गहिरो विश्वास छ।'

एउटा पराजयबाट पार्टी कति पनि विचलित नभएको उल्लेख गर्दै उनले अब आगामी यात्रा जिततर्फ केन्द्रित हुने स्पष्ट पारे। 'हामी एकचोटि हार्‍यौँ, तर यो हारबाट अब जित सुनिश्चित गर्दै छौँ। हामी अँध्यारोबाट उज्यालो तर्फ लाग्दै छौँ,'  उनले भने, 'कतिपयले उज्यालो नेपाल पार्टी हरायो कि भनेर सोध्ने गरेका छन्, तर हाम्रो पार्टी कतै हराएको छैन, यो निरन्तर जनताको माझमा अगाडि बढिरहनेछ।'

घिसिङले घिसिङले हिजो धेरै नाममा क्रान्ति हुँदा राजनीतिक परिवर्तन मात्रै भएको बताउँदै अब हरित क्रान्तिमार्फत देशको स्थिति परिवर्तन गर्ने बताए । ‘उज्यालो नेपाल पार्टीले नेपालमा अब हरित क्रान्ति गर्छ । अब हरित क्रान्ति गर्छौं हामी,’ घिसिङले भने, ‘हिजो धेरै क्रान्तिका नाममा राजनीतिक परिवर्तन भए । सेतो क्रान्ति भनेर परिवर्तन भए, रातो क्रान्ति भनेर परिवर्तन भए १० वर्षे जनयुद्ध भयो ।’

पछिल्लो जेनजी आन्दोलनअघि रास्वपाले नीलो क्रान्ति भनेर भनेको उनले बताए । ‘जेनजी आन्दोलनका बेला त्यो भन्दा अगाडि स्थापित पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले नीलो क्रान्ति भनेर भन्नेभयो,’ उनले भने । तर, रास्वपाको नीलो क्रान्ति धेरै नटिक्ने उनले ठोकुवा गरे । ‘नीलो क्रान्ति धेरैदिन टिक्दैन । त्यसैले अन्तिमको क्रान्ति भनेको यो हरित क्रान्ति हो,’ घिसिङले भने ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७