रवीन्द्र मिश्रले दिए राप्रपाबाट राजीनामा
काठमाडौं : काठमाडौं–१ बाट तेस्रो पटक पराजित भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिने घोषणा गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत उनले सोचविचार गरेर आजकै मितिबाट पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका हुन्। राप्रपाका उपाध्यक्षसमेत रहेका मिश्रले राजीनामालाई दलीय राजनीतिबाट अस्थायी बिदा भएको उल्लेख गरेका छन्।
‘आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको छु। राजसंस्था पुनर्स्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा मेरा अडान यथावत रहनेछन् र तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहनेछु,’ उनले लेखेका छन्।
उनले पार्टीका सबै जिम्मेवारी त्यागे पनि राजसंस्था पुनःस्थापना र सुशासनका मुद्दामा आफ्नो अडान यथावत रहने बताएका छन्।
‘आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन। धेरै सोचि–विचारी लिँदैछु। देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई संगठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु,’ उनले भनेका छन्, विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा म विश्वस्त छु।’
.gif)

.png)

