स्ववियुले माग्यो डिनको राजीनामा
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा दुई दिनभित्र निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।
स्ववियुले परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता हुन नसक्ने भन्दै प्रश्नपत्र कसरी बाहिरियो र त्यसमा को–को संलग्न छन् भन्ने विषयमा तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको हो। स्ववियु अध्यक्ष दीपक जोशीले दुई दिनभित्र घटनाको निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न र कडा कारबाही गर्नुपर्ने बताए।
उनले भने, ‘परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता हुन सक्दैन। दुई दिनभित्र घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्छ। प्रश्नपत्र कसरी बाहिरियो र कसको संलग्नता थियो भन्ने विषयमा अनुसन्धान गरी दोषीलाई कारबाही हुनुपर्छ।’
स्ववियुले घटनाको जिम्मेवारी लिँदै व्यवस्थापन संकायका डीन र परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारीका आधारमा राजीनामा दिनुपर्ने मागसमेत गरेको छ। अध्यक्ष जोशीले दोषीमाथि कारबाही नभए व्यवस्थापन संकायका डीन र परीक्षा हेर्ने सहायक डीनले राजीनामा दिनुपर्ने बताए।
यसैबीच, प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको पहिचान र भूमिकाबारे अनुसन्धान भइरहेको जनाएको छ। त्रिविले पनि घटनाको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। समितिले प्रश्नपत्र बाहिरिनुको कारण, संलग्न व्यक्ति तथा आगामी दिनमा यस्ता घटना रोक्न आवश्यक उपायबारे प्रतिवेदन दिनेछ।
.gif)

.png)

