महाशिवरात्रिमा गरगहना नलगाई मन्दिर जान प्रहरीको अनुरोध


२०८२ फाल्गुण २ शनिबार १८:१६ बजे

काठमाडौँ : महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी परिसर काठमाडौँ ले १३ बुँदे अनुरोध जारी गरेको छ । 

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार चोरी तथा लुटपाटका घटना हुनसक्ने भएकाले बहुमूल्य गरगहना नलगाउन तथा महत्त्वपूर्ण र महँगो सरसामान नल्याउन आग्रह गरिएको छ । 

मन्दिर परिसरमा झोला नल्याउन, पशुपति क्षेत्रको मापदण्डअनुसार प्लास्टिकका झोला, कप, प्लेटलगायत सामग्री प्रयोग नगर्न तथा दूध, गङ्गाजललगायत सामग्रीका लागि फुट्ने काँचका भाँडा प्रयोग नगर्न पनि अनुरोध गरिएको छ ।

भक्तजनलाई तोकिएको कक्षमा जुत्ताचप्पल राखेर मात्र मन्दिर प्रवेश गर्न, दर्शनपछि छिटो बाहिर निस्किन र घुइँचो व्यवस्थापनमा सहयोग गर्न आग्रह गरिएको छ। दर्शन मार्गअनुसार छुट्टाछुट्टै स्थानमा जुत्ताचप्पल कक्षको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

मन्दिर प्राङ्गणमा मोबाइल फोन, क्यामरालगायत सामग्रीको प्रयोग निषेध गरिएको छ। छालाका सामान, जुत्ताचप्पल, ज्याकेट, कम्मरपेटी लगाएर प्रवेश गर्न नपाइने भएकाले त्यस्ता सामग्री सुरक्षित स्थानमा राखेर मात्र दर्शन गर्न भनिएको छ।

पाकेटमाराबाट सतर्क रहन, आफ्नो सामानको सुरक्षा आफैँ गर्न तथा कुनै तीर्थयात्री अस्वस्थ भए स्वास्थ्य शिविरमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ। सामान वा व्यक्ति हराएमा वा अन्य समस्या परे तुरुन्त प्रहरी शिविर वा खोजखबर कक्षमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

मेला क्षेत्र स्वच्छ राख्न जथाभावी फोहोर नगर्न, तोकिएको शौचालय प्रयोग गर्न, शारीरिक रूपमा अशक्त र ज्येष्ठ नागरिकलाई सहयोग गर्न तथा कुनै विशेष टिकट वा पासको व्यवस्था नरहेकाले पङ्क्तिबद्ध भएर दर्शन गर्न पनि प्रहरीले आग्रह गरेको छ। पङ्क्तिमा बस्दा अरूको अधिकार हनन हुने व्यवहार नगर्नसमेत सचेत गराइएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७