दरवाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको अवरोध हट्यो


२०८२ माघ २९ बिहीबार १३:४० बजे

काठमाडौँ : म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ-म्याग्दीखोला जलविद्युत् आयोजनामा देखिएको अवरोध एक महिनापछि हटेको छ। आजदेखि आयोजना निर्माण कार्य पुनः सुरु भएको छ ।

धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रवर्द्धक रहेको उक्त आयोजनाका कारण दरवाङ-दाङखोला-धारापानी-ताकम-मुना-लुलाङ-गुर्जा सडक खण्डअन्तर्गत मालिका गाउँपालिका-५ र धवलागिरि गाउँपालिका-७ को सिमाना दाङखोलामा पुल निर्माण सुरु नहुँदा विवाद चर्किएको थियो। ठेक्का सम्झौता भएको छ वर्ष बितिसक्दा पनि काम अघि नबढेपछि धवलागिरि गाउँपालिकाका बासिन्दाले गत पुस २५ गतेदेखि आयोजना निर्माण बन्द गराएका थिए । 

स्थानीयको मागअनुसार चालु आर्थिक वर्षभित्र मोटरेबल पुल निर्माण सुरु हुने सुनिश्चितता भएपछि आन्दोलन फिर्ता लिने निर्णय गरिएको छ। धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार राजनीतिक दल र स्थानीय अगुवासँगको परामर्शपछि आयोजना निर्माणमा सहयोग गर्ने सहमति भएको हो । 

धौलागिरि कालिका हाइड्रोका प्रबन्ध निर्देशक हर्कमान मगरले कानुनी प्रक्रिया पूरा गरेर यथाशीघ्र पुल निर्माण सुरु गरी सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । 

दाङखोलामा १८ मिटर लामो मोटरेबल पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी-फेवा जेभी पोखराबीच २०७६ जेठ २२ गते एक करोड ९३ लाख २९ हजार ४५७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०७७ जेठ २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्माण अघि बढ्न सकेको थिएन । 

जलविद्युत् आयोजनाको बाँध क्षेत्र डुबानमा पर्ने भएकाले प्रस्तावित स्थानभन्दा करिब दुई सय मिटर माथि पुल सार्न प्रदेश सरकारलाई आग्रह गर्ने र सरकारी निकायबाट निर्माण नभए आयोजनाले नै पुल बनाउने सहमति भएको थियो। तर निर्माण व्यवसायीले विभिन्न कारण देखाउँदै अदालतमा मुद्दा दायर गरेपछि प्रक्रिया लम्बिएको थियो।

पुल निर्माणमा ढिलाइ भइरहेकाले दबाब सिर्जना गर्न स्थानीयले जलविद्युत् आयोजना नै रोक्ने निर्णय गरेका थिए।

२०७५ मा धवलागिरि गाउँपालिकाले दाङखोलामा बनाएको अस्थायी मोटरेबल पुल जीर्ण भइसकेको छ। नयाँ पुल नबन्दा गुर्जा, लुलाङ, मुना, मुदी र ताकमका बासिन्दालाई आवतजावतमा समस्या हुँदै आएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७