जलविद्युत्, शेयर र रोजगारी : म्याग्दीको चुनावी बहस


२०८२ माघ २६ सोमबार १४:२१ बजे

काठमाडौँ : पछिल्लो दश वर्षयता म्याग्दीमा कूल २८६ मेगावाट क्षमताका नौ वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भई केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् । थप ६२ दशमलव पाँच मेगावाट क्षमताका दुई आयोजना यसै वर्षभित्र राष्ट्रिय प्रणालीमा जोडिने तयारीमा छन् ।

हाल कूल २८२ दशमलव २५ मेगावाट क्षमताका नौ वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । निर्माण भएका तथा निर्माणाधीन आयोजनालाई केन्द्रीय ग्रिडमा जोड्न २२० केभी क्षमताको कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माण भइसकेको छ । १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन र सबस्टेशन भने निर्माणाधीन छन् । प्रसारण पूर्वाधार तयार भएसँगै जिल्लामा जलविद्युत् आयोजनाले तीव्रता लिएको छ ।

कालीगण्डकी, राहुघाट र म्याग्दी नदी जलाधारमा फैलिएको म्याग्दी जलविद्युत् सम्भावनाको दृष्टिले महत्वपूर्ण जिल्ला मानिन्छ । यही सम्भावनालाई आधार बनाएर आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूले जलविद्युत्बाट म्याग्देलीको जीवनस्तर सुधार गर्ने मुद्दा अघि सारेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) ले जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकता दिँदै जिल्लाभरका जनतालाई सहज हुने गरी लाभ बाँडफाँड गर्ने बताएका छन् । नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले आयोजनाबाट प्रभावित क्षेत्रका लागि विनियोजन हुने सामाजिक बजेटलाई पारदर्शी र प्रभावकारी बनाउने तथा जिल्लावासीलाई लगानीमा सहभागी गराउने नीति निर्माणमा पहल गर्ने बताएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले प्रभावित क्षेत्रका बासिन्दाका लागि उपलब्ध गराइनुपर्ने कुल लागतको १० प्रतिशत संस्थापक सेयर प्रक्रियामा भएको ढिलाइप्रति चासो व्यक्त गरेका छन् ।

‘प्रभावितलाई सेयर लगानीमा ढिलाई हुनुको कारण र समस्या पहिचान गरेर नीतिगत हिसाबले समाधान गर्नु मेरो प्राथमिकता हुनेछ,’ उनले भने, ‘थोरै पुँजी भएका सर्वसाधारणहरुले पनि नीतिगत व्यवस्थाअनुसार सेयर लगानीको अवसर पाएमा उनिहरुको आर्थिक स्तर सुधारमा सहयोग पुग्नेछ ।’

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा २०७७ सालमा निर्माण सम्पन्न ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनामा संस्थापक सेयर लगानी गरेका स्थानीयले राम्रो मुनाफा आर्जन गरिरहेका छन् । मिस्त्रीखोला र पाँच मेगावाटको घलेम्दीखोला बाहेक अन्य आयोजनाले भने अझै प्रभावित क्षेत्रका बासिन्दाका लागि संस्थापक सेयर जारी गरेका छैनन् ।

अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका महाविर पुनले आर्थिक समृद्धि र रोजगारी सिर्जनाका लागि जलविद्युत् आयोजनालाई सम्भावनाको क्षेत्रका रूपमा प्रस्तुत गरेका छन् ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव नारायण जिसीले जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका बासिन्दालाई शीघ्र संस्थापक सेयरमा सहभागी गराउनुपर्ने आवश्यकता औँल्याए । जिल्लाभित्र रोजगारी, पेसा व्यवसाय र प्रवासी म्याग्देलीलाई समेत लगानीको अवसर सिर्जना हुने अपेक्षा उनले व्यक्त गरे ।

अन्नपूर्ण गाउँपालिकामा ७१ मेगावाटको निलगिरि दोस्रो, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, पाँच मेगावाटको घलेम्दीखोला, छ मेगावाटको रेलेखोला र ४० दशमलव ७ मेगावाटको निलगिरि पहिलो आयोजना निर्माण सम्पन्न भइसकेका छन् । कालीगण्डकी नदीमा १८४ मेगावाटको कालीगण्डकी गर्ज आयोजना सुरु भइसकेको छ भने ६६.५ मेगावाटको मध्य कालीगण्डकी आयोजना निर्माणाधीन छ ।

रघुगङ्गा गाउँपालिकामा मङ्गले राहुघाट, माथिल्लो राहुघाट र ठूलोखोला आयोजना सम्पन्न भएका छन् । राहुघाट र ठूलोखोला माथिल्लो ‘ए’ आयोजना अन्तिम चरणमा पुगेका छन् । यी सबै आयोजनाले एक वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारी गरेका छन् ।

म्याग्दीखोला जलाधार क्षेत्रमा दरबाङ म्याग्दीखोला, अपर म्याग्दी–१, अपर म्याग्दी, मुदीखोला र म्याग्दीखोला आयोजनाका पहुँचमार्ग तथा टनेल निर्माण तीव्र गतिमा अघि बढिरहेका छन् । उत्तरी भेगमा कालीगण्डकी जलाधारका थप आयोजनाहरू खरिद सम्झौता भई निर्माण प्रक्रियामा छन् ।

जलविद्युत् आयोजनाका पहुँचमार्गका कारण नारच्याङ, दग्नाम, दर्मीजा, चिमखोला, कुइनेमङ्गले, खिवाङ, नाउरा, चेचुङ र बगरजस्ता दुर्गम बस्तीमा सडक पहुँच विस्तार भएको छ । सामुदायिक उत्तरदायित्व कार्यक्रमले स्थानीय विकासमा समेत सहयोग पुगेको छ ।

यस क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र गरी १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार ३९७ मतदाता, ८२ मतदानस्थल र १२० मतदान केन्द्र रहेका छन् ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७