निर्वाचनपछि प्रतिनिधिसभाको बैठक निर्माणाधीन नयाँ संसद भवनमै बस्ने
काठमाडौँ : आगामी २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद भवनमै सञ्चालन हुने भएको छ ।
नयाँ संसद सञ्चालनका लागि सरकारले निर्माणाधीन संसद भवन उपलब्ध गराउने जानकारी गराइसकेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
उनका अनुसार निर्माणाधीन संसद भवनअन्तर्गत रहेका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन प्रयोगमा ल्याइनेछ । हाल निर्माणाधीन संसद भवनको करिब ९० प्रतिशत भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ । बाँकी काम चैतसम्म सक्ने गरी सरकारसँग निरन्तर छलफल भइरहेको गिरीले जानकारी दिए ।
‘निर्वाचनपश्चात् गठन हुने प्रतिनिधिसभाको बैठक कहाँ बस्छ भन्ने जिज्ञासा बारम्बार आउने गरेको छ । यस सम्बन्धमा सचिवालयले पनि नेपाल सरकारसँग छलफल गरिरहेकै अवस्था हो । जुन निर्माणाधीन संसद भवन छ, त्यसमा १२ वटा भवन रहेका छन्, जसमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने तयारी भएको छ । अब गठन हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकसमेत निर्माणाधीन नयाँ संसद भवनमै बस्ने जानकारी सरकारले गराएको छ’, गिरीले भने ।
उनका अनुसार अझै समय बाँकी रहेकाले बाँकी निर्माण कार्य एक महिनाभित्र सम्पन्न गरी चैतको पहिलो हप्तासम्म संसद सचिवालयलाई भवन हस्तान्तरण गर्ने तयारी छ । यही कारण हालसम्म संसद सचिवालयका लागि वैकल्पिक व्यवस्थाबारे सरकारले कुनै निर्णय नगरेको उनले बताए ।
सरकार २१ फागुनपछि बस्ने प्रतिनिधिसभाको बैठक नयाँ संसद भवनमै सञ्चालन गर्ने तयारीमा रहेको गिरीको भनाइ छ ।
.gif)

.png)

