माओवादी कर्णाली प्रदेश संसदीय दलका नेता शर्माले दिए राजीनामा
काठमाडौँ : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले राजीनामा दिएका छन् ।
शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । पत्रमा उनले लेखेका छन्, ‘उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको ब्यहोरा अवगत गराउँदछु ।’
पछिल्लो समय प्रचण्डको साथ छोडेका शर्मा जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेपछि दलको नेताबाट राजीनामा दिएका हुन् । उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।
माओवादी प्रदेश संसदीय दलको बैठक वीरेन्द्रनगरमा जारी छ । बैठकले शर्मालाई कारबाही गर्ने भएपछि उनले दलको नेताबाट राजीनामा दिएको माओवादी प्रदेश सभाका एक सदस्यले जानकारी दिए ।
शर्मालाई मंसिर १८ गतेभित्र दलको सम्पर्कमा आउनका लागि समन्वय गर्न प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई जिम्मेवारी दिइएको थियो ।
.gif)

.png)

