मेटिएका पाइला पछ्याउँदै याङमा छेर्चेनसम्म पुग्दा...
फराकिला घरहरूमा पर्यटकको चहलपहल थियो । चउरको बीचमा सानो खोला बगेको छ । त्यही खोलाको वारिपारि याक र चौरीहरू चर्दै थिए । समुद्री सतहदेखि ३ हजार २०० मिटर उचाइमा रहेको फलेबाट हामी नाङ्गोला पासतर्फ उक्लँदै थियौँ । यात्राको गन्तव्य थियो-‘याङमा’।
नाङ्गोला पासलाई निकै कठिन यात्रामध्ये एक मानिन्छ । तर हामीले ४ हजार ७०० मिटर उचाइको नाङ्गोला पास पार गर्दै पूर्वी नेपालको उच्च भू-बस्ती याङमासम्म पुग्ने लक्ष्य बनाएका थियौँ । हाम्रो लागि यो एक रोमाञ्चक र साहसिक यात्राको अवसर थियो ।
मेरो विचारमा पर्यटकीय हिसाबले ताप्लेजुङ जिल्ला ‘अन्माउन बाँकी रहेकी दुलहीजस्तै’ हो ।
आजसम्म ताप्लेजुङले आफ्नी प्रकृतिलाई अरबी मुलुकका महिलाले लगाउने बुर्काले अनुहार ढाकेजस्तै लुकाएर राखेको छ । जब त्यो बुर्का खुल्दै जान्छ, तब यहाँको सुन्दरताको मादकता सार्वजनिक हुँदै जानेछ ।
यही ठाउँमा प्रकृतिले सृजना गरेका सौन्दर्य र सम्पदालाई देश–विदेशमा परिचित गराउन, पर्यटकहरूलाई आकर्षित गर्न र सरोकारवालालाई सचेत गराउन मैले ‘अप्पर ताप्लेजुङ भ्रमण दशक’ घोषणा गर्न आह्वान गरेको थिएँ । २०८२ साल असोज २० गते ४ हजार ७०० मिटर उचाइमा अवस्थित सिङ्जेमा ताललाई साक्षी राखेर यो आह्वान गरिएको थियो ।
डाँडाबाट गरेको त्यो आवाज सम्बन्धित निकाय र सरोकारवालाले सुन्ने आशा राख्दै यस पटक हामी नाङ्गोला पास हुँदै पूर्वी नेपालको सबैभन्दा अग्लो बस्ती याङमातर्फ हिँडेका थियौँ । नाङ्गोला पास पार गरेर उक्त रुटको अवस्था अवलोकन गर्न, आगामी दिनमा गर्नुपर्ने कामका सुझाव दिन, अवस्थितिको अभिलेख तयार पार्न र डकुमेन्ट्री छायाङ्कन गर्न हामी यात्रामा निस्किएका थियौँ ।
मूलतः यात्राका केही उद्देश्य थिए :-
पहिलो :– विदेशीले निक्कै चासो राख्ने नाङ्गोला पासको आधारभूत जानकारी सङ्कलन गर्नु ।
दोस्रो :– ४ वटा हिमाली शेर्पा बस्तीको कनेक्टिभिटी रुटहरू घुन्सा, फले, याङमा र ओलाङ्चुङगोलाबारे अध्ययन गर्नु ।
तेस्रो :– नाङगोला पास हुँदै याङमा , ओलाङचुङ्गगोला पुग्दाको पर्यावरणीय अनुभूति र डकुमेन्ट्री निर्माण
हामी सात जनाको टोली थियौँ । रुटको वैज्ञानिक डाटा उपलब्ध नभएको हुँदा डाटाबेस तयार गर्दै अघि बढ्यौँ र फलेबाट याङमा पुग्न तीन दिन लाग्यो । तर यो दूरी सामान्यतः दुई दिनमै पूरा गर्न सकिने रहेछ ।
फलेबाट सुरु भएको यात्रा नाङ्गोला पास हुँदै सुम्दोम्मा टार, त्यसपछि मार्साङ्ला पास, लाकुलुङ टार र नुप पार गर्दै अन्ततः याङमा पुगियो । यो सम्पूर्ण रुट निकै मनमोहक लाग्यो ।
बाटोको अधिकांश भाग ४ हजार मिटरभन्दा माथिको उचाइमा पर्दछ । विशाल खर्कहरू र वरिपरि ३६० डिग्रीमा फैलिएका ६ हजार मिटर आसपासका हिम चुचुराहरूले यस मार्गको सौन्दर्य र पर्यटन सम्भावना स्पष्ट रूपमा देखाउँछन् ।
पौव हिमताल लाई उद्गम स्थल बनाएर बगेको याङमा खोला याङमा बस्ती आइ पुग्नु अगाडी ४५०० मिटरको उचाइमा अलमल गर्छ । याङमा खोलाले एकै छिन अलमल गरेर छेर्चेन ताल बनेको छ । जसले धेरै बेर अलमल गराउन सक्छ त्यहाँ पुग्नेलाई ।
तर दुर्भाग्यवश, यही सम्भावनाप्रति ताप्लेजुङवासी सरोकारवालाहरूको बेवास्ता छ । 'बेवास्ता'भन्ने शब्द प्रयोग गर्नुको कारण छ, उत्तरी सिमानाको अघोषित रक्षकझैँ बस्ने शेर्पा समुदायको याङमा बस्तीलाई राज्यले अझै औपचारिक रूपमा चिनेको छैन । वडा र केही गैरसरकारी संस्थाबाहेक अन्य सरकारी कार्यक्रम त्यहाँ पुगेका छैनन् ।
'यो बस्ती अब याक र चौँरी बिक्री नहुन्जेल मात्र टिक्छ,' याङमाका स्थानीय नाम्ग्याल शेर्पा भन्छन्, 'कोरोना कालपछि चीनले टिप्ताला नाका बन्द गरेको छ । हामीले याक बेच्न पाउँदैनौँ । हरेक घरमा ५०/६० वटा याक र चौँरी छन्, तर अन्य आयस्रोत छैन । तिब्बत पुर्याउन सक्दा एउटा याकको मूल्य १ देखि डेढ लाख रुपैयाँ पर्थ्यो । त्यही बेचेर हामी काठमाडौँसम्म पुग्थ्यौँ।'
छेर्चेन ताल, पौव पोखरी ,नाङ्गामा पोखरी र आसपासको अलौकिक हिमाली दृश्यहरू याक बिक्री भएर यदि बस्ती रित्तो भयो भने अझै कति गुमनाम र सुनसान होला भन्ने चिन्ता गरायो ।
नाम्ग्याल शेर्पाका अनुसार वडा अध्यक्ष र कहिलेकाहीँ पर्यटकझैँ भएर आउने पालिका अध्यक्षबाहेक अरू कुनै जनप्रतिनिधि याङमामा कहिल्यै नआएको र धेरैले त उनीहरूलाई देख्नसम्म नपाएको बताएका छन् ।
विगतमा कञ्चनजङ्घा उत्तरी बेस क्याम्प छेउको ल्होनाक हुँदै याङमा सम्म विदेशी पर्यटक आउने गरेका थिए । तर अहिले न स्वदेशी न विदेशी अनुहार त्यहाँ देखिन्छ ।
जम्मा १४ घरधुरी रहेको याङमा बस्तीमा हाल ९ घरमा मात्र १६/१७ जनाको बसोबास छ ।
छेर्चेन परिसरमा पदयात्री
नाङगोला पास बाट देखिएको सेलेले पास
लोपोन्मुख बन्यजन्तु नाउर
नाङगोला पासबाट देखिएको सुम्दोम्मा टार, मार्साङ्ला पास
४५०० मिटर उचाईमा रहेको छेर्चेन ताल
४१०० मिटर उचाईमा अवस्थित याङमा बस्ती
.gif)

.png)

