ग्राहकको १८ किलो सुन लुटिएपछि पैसा तिर्ने तयारीमा राष्ट्रिय वाणिज्य बैंक


२०८२ कार्तिक १६ आइतबार २०:५५ बजे

काठमाडौँ : जेनजी प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनसँगको राष्ट्रिय वाणिज्य बैंकबाट ३८ करोड रुपैयाँभन्दा बढीको नगद र गरगहना लुटपाट भएको बैंकका अधिकारी र प्रहरीले बताएका छन् । जसमध्ये हालसम्म ३२ लाख बराबरको सम्पत्ति मात्रै बरामद भएको प्रहरीले जनाएको बिबिसीले उल्लेख गरेको छ ।

बैंकबाट कर्जा लिनेहरूले धरौटी स्वरूप राखेका सुनका गरगहना भदौ २४ को प्रदर्शनका क्रममा लुटिएको थियो । सुरक्षित कोठाभित्र राखिएको भल्ट फोडेर करिब १८ किलो सुनका गरगहना चोरी भएको उजुरी प्रहरी, अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई दिइएको बैंकका अधिकारीले बताएका छन्।

चोरिएको सुनमध्ये करिब ७०० ग्राम मात्रै हालसम्म बरामद भएको अधिकारीहरूले बताएका छन् । बाँकी सुन भेटिएन भने बैंकमा धरौटी राखेका व्यक्तिहरूले आफ्नो सम्पत्ति फिर्ता पाउँछन् कि पाउँदैनन्?

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी निर्देशक देवेन्द्ररमण खनाल ग्राहकले जमानतमा राखेको गरगहना बापतको क्षतिपूर्ति दिने तयारी भइरहेको बताउँछन्।

'ग्राहकहरूले ल्याएर राख्नुभएको सुन चोरी भएको छ। हामी एउटा निर्णय गरेर उहाँहरूलाई सुन नै दिन नसके पनि त्यस बराबरको नगद दिन्छौँ। त्यसका लागि एउटा समिति पनि बनेको छ,' खनालले भने। 'सबभन्दा चाहिँ महत्त्वपूर्ण कुरा चाहिँ गहनासँग आफ्नो एउटा भावनात्मक सम्बन्ध पनि जोडिएको हुन्छ। त्यही गहना चाहिँ हामीले फिर्ता गर्न सकेनौँ।'

यसअघि माओवादी सशस्त्र द्वन्द्वका क्रममा पनि कतिपय बैङ्कहरू लुटिएका थिए । त्यसबेला पनि बैङ्कहरूले जिम्मा लिएर राखेका ग्राहकका गरगहना र नगदको क्षतिपूर्ति दिइएको उनले बताए।

गरगहनाको क्षतिपूर्ति रकम अहिलेको बजारभाउ अनुसार दिने वा धितो राख्दा कायम गरिएको मूल्याङ्कन अनुसार दिने भन्ने टुङ्गो लाग्न बाँकी रहेको प्रमुख कार्यकारी अधिकृत खनालले बताए।

'अन्यत्रका अभ्यास पनि हामी हेर्दैछौँ। त्यो समितिले के गर्दा उपयुक्त हुन्छ त्यही अनुसार यसको टुङ्गो लगाउँछ,' उनले भने।

बैंकले पनि बीमाबाट लिन्छ भुक्तानी

आफ्नो एउटा शाखाबाट मात्रै ३८ करोड रुपैयाँभन्दा बढीको धनमाल गुमाएको राष्ट्रिय वाणिज्य बैंकले आफ्नो बैंकमा गरगहना धरौटी राखेका व्यक्तिहरूलाई क्षतिपूर्ति बापत दिने रकम आफूले हाल्नु पर्दैन ।

'हामीले यस्तै परिस्थितिहरूको जोखिमका लागि बीमा गरेका हुन्छौँ। हाम्रो पूर्ण बीमा छ र हामीले बीमा दाबी पनि गरिसकेका छौँ,' बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले भने।

बैंकले आफूलाई भएको क्षतिको धेरै किस्ता बीमाबाट पाउने भएका कारण सञ्चालक वा बैंकका शेयर लगानीकर्तालाई त्यसले उल्लेख्य घाटा नपुर्‍याउने उनले बताए। बैङ्क सञ्चालकहरूको छाता सङ्गठन नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भुवन दाहाल बैङ्कहरूले आफ्नो कार्यालयमा भएको नगद र धितोको पनि बीमा गराउने गरेको बताउँछन् ।

'बैङ्कहरूले दङ्गाहरूबाट हुनसक्ने क्षतिको पनि परिपूरण हुने गरी बीमा गरेका हुन्छन्। बैङ्कहरूले आफूसँग एक/दुई प्रतिशतभन्दा धेरै नगद राख्दैनन्। त्यो नगददेखि हरेक सामानको बीमा गरेका हुन्छन्,' दाहाल भन्छन्।

प्रहरीले कसरी खोज्दै छ लुटिएको धन ?

राष्ट्रिय वाणिज्य बैंकबाट धनमाल लुटिएको घटनामा अनुसन्धान गरिरहेको प्रहरीले हालसम्म ३२ लाख रुपैयाँ बराबरको नगद र सुन बरामद गरिएको जनाएको छ। प्रहरीका अनुसार उक्त घटनामा संलग्न भएको आशङ्कामा पक्राउ परेका तीन जना व्यक्तिहरूबाट करिब ७०० ग्राम सुन बरामद भएको छ ।

पक्राउ परेकामध्ये एक जनालाई अदालतले थुनामा पठाएको छ भने अर्का एक जना अनुसन्धानकै क्रममा छन्। बाँकी एक जना नाबालक रहेका कारण तारेखमा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार प्रदर्शनका क्रममा बैंकका सिसिटिभीसहित नयाँ बानेश्वर क्षेत्रका कैयौँ सिसिटिभी क्यामरामा क्षति पुगेका कारण अनुसन्धानका लागि समय लागेको छ।

'हामीले व्यक्तिहरूले खिचेका भिडिओहरू, सामाजिक सञ्जालमा राखिएका भिडिओबाट व्यक्तिहरूको पहिचान गर्ने र आसपासका क्षेत्रहरूबाट सिसिटिभीमा कैद भएका दृश्य सङ्कलन गरेर अनुसन्धान गरिरहेका छौँ,' भट्टराई भन्छन् ।

उनले त्यहाँबाट रकम र गरगहना चोरी गरेका व्यक्तिहरूबारे अन्य व्यक्तिले दिएका सूचना पनि विश्लेषण भइरहेको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७