हमासले रिहा गर्ने जीवित २० बन्धकको सूचीमा छैनन् विपिन


२०८२ असोज २७ सोमबार ११:२३ बजे

काठमाडौं । हमासले आज (सोमबार) आफ्नो कब्जामा रहेका २० जना बन्धकलाई रिहा गर्दैछ । तर, हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको नाम भने रिहा हुने सूचीमा छैन ।

हमासको सैन्य शाखाले २० जना जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको हो । 

द टाइम्स अफ इजरायलका अनुसार समूहमा अपहरण गरिएका सिपाही तामिर निम्रोदी र नेपाली नागरिक विपिन जोशीको नाम छैन।

अमेरिकाको मध्यस्थतामा इजिप्टमा भएको वार्तामा इजरायल र हमासबीच भएको सम्झौताअनुसार आज सोमबार त्यहाँको समय दिउँसो १२ बजे अर्थात् यहाँको समय भने दिउँसो २ः४५ बजेसम्म सबै बन्धक रिहा गरिनुपर्नेछ ।

यसैबीच इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशी जीवित नरहेको जानकारी पाएको बताएका छन् ।

आफूसहित अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी इजरायलका अधिकारीले दिएको राजदूत पण्डितले बताए ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।

सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उनको अवस्था अज्ञात थियो । गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो ।

विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । त्यसपछि अहिले उनीहरु अमेरिकामा छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७