बलिउड सुपरस्टार शाहरुख खान अब अर्बपति क्लबमा
काठमाडौं । बलिउडका सुपरस्टार शाहरुख खान संसारका सबैभन्दा धनी नायकहरूमध्येमा गनिँदै पहिलो पटक अर्बपतिहरूको क्लबमा सूचीकृत भएका छन्।
यी ५९ वर्षीय नायकको कुल सम्पत्ति १.४ अर्ब डलर रहेको हुरुन इन्डिया रिच लिस्ट २०२५ मा उल्लेख गरिएको छ। यो भारतका धनीहरूको वार्षिक सूची निकाल्ने संस्था हो।
यसले उनलाई आर्नोल्ड श्वार्शनीगर, पप स्टार रिहाना, गल्फर टाइगर वूड र गायक टेलर स्वीफ्ट जस्ता विश्वव्यापी सेलिब्रिटीको लाइनमा पुर्याइदिएको छ जसको कुल सम्पत्ति फोर्ब्स म्यागजिनका अनुसार १.६ अर्ब डलर रहेको छ।
बलिउडका ‘किङ अफ रोमान्स’ भनिने खानले हिन्दी फिल्म उद्योगमा तीन दशकभन्दा बढी समय बिताएका छन्। उनी नायकबाहेक एउटा प्रमुख प्रोडक्सन हाउस र क्रिकेट टीमका मालिक पनि हुन्।
उनका आयका अन्य स्रोतमा फिल्मको आम्दानी, विज्ञापन र विश्वव्यापी रूपमा उनले घरजग्गा व्यवसायमा लगाएको लगानी हो।
फोर्ब्सका अनुसार कैयौँ सेलिब्रिटीहरू असाध्यै धनी भए पनि तिनको कुल सम्पत्ति १० अङ्कको हुनु भने दुर्लभै छ। हाल दुई दर्जनभन्दा कम मानिसहरूले त्यो सङ्ख्या छुन सकेका छन्।
कैयौँ फिल्ममा खानकी सहकर्मी रहेकी नायिका जुही चावला र उनको परिवार दोस्रो नम्बरमा छ, जसको कुल सम्पत्ति ८८ करोड डलर रेकर्ड गरिएको छ।
त्यसैगरी सूचीमा परेका ह्रितिक रोशनको सम्पत्ति २६ करोड डलर छ भने निर्देशन करन जोहरको २० करोड डलर छ। अमिताभ बच्चन र उनका परिवारको सम्पत्ति १८ करोड ३० लाख डलर रहेको छ।
सन् २०२४ मा जोहरले उनको उत्पादन कम्पनीमा भएको ५० प्रतिशत शेयर ११ करोड ९० लाखमा भारतका खोप उत्पादनकर्ता आधार पूनावालालाई बिक्री गरेपछि चर्चामा आएका थिए।
भारतमा अर्बपतिहरूको सङ्ख्या ३५० नाघेको छ। यो वर्ष हुरुन इन्डियाका अनुसार अर्बपति मुकेश अम्बानी र गौतम अडानी पहिलो र दोस्रो नम्बरमा परेका छन्। (बीबीसीबाट)
.gif)

.png)

