बारले भन्यो : संसद विघटन स्वेच्छाचारी र असंवैधानिक


२०८२ भदौ २८ शनिबार ०९:५३ बजे

काठमाडौं । नेपाल बार एसोसिएसनले संसद् विघटन ‘स्वेच्छाचारी र असंवैधानिक’ भन्दै भर्त्सना गरेको छ। 
बारका अध्यक्ष डा. विजयप्रसाद मिश्र र महासचिव केदारप्रसाद कोइरालाले संयुक्त विज्ञप्ति प्रकाशित गरी जनप्रतिनिधिमुलक संस्था संसद विघटनप्रति कडा आपत्ति जनाएको हो ।

शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गरेपछि उनकै सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा भंग गरेका थिए ।

उक्त कदम संवैधानिक सर्वोच्चता एवं संविधानवाद समेतको प्रत्यक्ष विपरीत रहेको ठहर बार एसोसिएसनले गरेको छ।

‘प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने गरी राष्ट्रपतिबाट मिति २०८२ साल भाद्र २७ गते भएको निर्णय स्वेच्छाचारी र असंवैधानिक रहनुका साथै कानुनको शासन, संवैधानिक सर्वोच्चता एवं संविधानवाद समेतको प्रत्यक्ष विपरीत रहेको निष्कर्षसहित यस कदमको कडा भर्त्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

यो कदम नेपाली जनताले लोकतन्त्रका लागि गरेको लामो र कठिन संघर्षलाई गम्भीर रूपमा कमजोर पार्ने र लोकतन्त्र, गणतन्त्र र समावेशितासहितको संघियता जस्ता उपलब्धिलाई खोस्नेतर्फ लक्षित रहेको दाबी बारले गरेको छ। 

बारले संविधानको अक्षरशः पालना गर्न गराउन र नेपाली जनताको बलिदानीपूर्ण इतिहासको रक्षाका लागि कुनै पनि कदम चाल्नको लागि तयार रहेको भन्दै यस कार्यमा सहकार्यको लागि आम जनसमुदायमा आह्वान समेत गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७