पोखरेलको फरक मत : विद्या भण्डारीलाई रोक्दा पार्टीमा दूरगामी असर पर्छ, निर्णय सच्च्याइयोस्

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति एवं पार्टी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नरहने गरी गरिएको निर्णय सच्याउन माग गर्दै सचिवालय बैठकमा फरक मत पेश गरेका छन् ।
पोखरेलले विद्या भण्डारीलाई रोक्दा पार्टी र आन्दोलनमा नकरात्मक दूरगामी परिणामको गम्भिर सम्भावनालाई मध्यनजर गरेर निर्णय सच्चाउनु पर्ने मत पेश गरेका हुन् ।
लोकतन्त्रका विश्वव्यापी मान्यता तथा अभ्यास, नेपालको संविधान तथा प्रचलित कानून अनुसार कुनै पनि नागरिकको राजनीतिक अधिकारमाथि बन्देज लगाउन नमिल्ने उनको मत छ । फरक मतमा उनले भनेका छन, ‘मेरो विचारमा त्यस्तो निर्णयले पार्टीभित्र अस्वस्थता र स्वेच्छाचारीतालाई बढावा दिने काम गर्नेछ । यो राजनीतिक पूर्वाग्रहको एउटा गम्भीर दृष्टान्तको रूपमा पनि उल्लेख हुनसक्छ ।’
पोखरेलले आफ्नो फरक मतको सुरूमा केन्द्रीय कमिटीको नवौं बैठक ( ५–६ साउन २०८२) मा पूर्वराष्ट्रपति तथा पूर्व उपाध्यक्ष भण्डारीको पार्टी राजनीतिमा प्रवेश तथा पार्टी सदस्यता सम्बन्धमा भएको छलफल तथा त्यहाँ स्वाभाविक नलाग्ने वातावरणमा निर्णय सुनाइएको लेखेका छन् ।