विधान अधिवेशनमा विद्या भण्डारीको सदस्यताबारे छलफल हुँदैन : प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा (एमाले) ले विधान अधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय नजोडिने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीको दाबी छ ।
कुनै व्यक्तिलाई सदस्यता दिने वा नदिने भन्ने विषय पार्टीको नितान्त केन्द्रीय कमिटीले टुंगो लगाउने विषय भएको उनको भनाई छ । ‘कोही पनि व्यक्तिको सदस्यताबारे प्रश्न केन्द्रीय कमिटीले नै टुंगो लगाएको छ । उहाँ (विद्या भण्डारी) को सदस्यता नवीकरण भएको छैन,’ ज्ञवालीले थप भने, ‘त्यो सदस्यताको विषयलाई लिएर थप छलफल गर्नुपर्ने कुनै जरुरी नै भएन । पछि कुनैबेला थप छलफल गर्नुपर्ने भए केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीमै छलफल हुनेछ ।’
स्थायी कमिटी सदस्य कर्ण थापाले प्रस्तुत गर्ने फरक मतमा भने छलफल हुने उनले बताए । ‘कर्ण थापाले आफ्नो फरक मतमा के लेख्नुहुन्छ, त्यो फरक कुरा रह्यो । हामी चाहन्छौं सम्माननीय पूर्वराष्ट्रपतिको व्यक्तित्व, राष्ट्रिय राजनीतिको योगदानको विषय महाधिवेशनको पक्ष र विपक्षको विषय नबनोस् भनेर हामीले सबैलाई आग्रह गरेका छौं,’ ज्ञवालीले भने ।