बादल पनि खुले विद्या भण्डारीको पक्षमा

भण्डारीको पक्षमा उभिए चार उपाध्यक्ष र दुई सचिव


२०८२ भदौ २० शुक्रबार १०:२४ बजे

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा (बादल) पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका छन् । 

पूर्वराष्ट्रपति एवम् पूर्वउपाध्यक्ष भण्डारीलाई पार्टी राजनीतिमा फर्कन दिने वा नदिने भन्ने विवादमा मौन बसेका बादल विधान महाधिवेशनको पूर्वसन्ध्यामा खुलेका हुन् । 

बिहीबार बसेको एमाले सचिवालय बैठकमा उपाध्यक्ष थापाले धारणा राख्दै विद्या भण्डारीबारे गरिएको निर्णय सच्याउनुपर्ने बताए । भण्डारीलाई राजनीतिमा रोक्ने निर्णयलाई गम्भीर रुपमा लिनुपर्ने उनको भनाई थियो ।

संविधानमा प्रष्ट नलेखिएकाले पूर्वराष्ट्रपतिले लिएको निर्णयलाई अन्यथा लिन नहुने बताएको एक नेताले जानकारी दिए ।

‘यो विषयबारे संविधानमा क्लियर छैन, त्यसैले उहाँले इच्छा राख्नुलाई अन्यथा ठान्नु हुँदैन,’ बादलको भनाई उदृत गर्दै उनले भने ।

एमालेको निर्णयले समाज विभाजन भएको उनले तर्क गरे ।

‘सोसाइटी विभाजित छ । हामीले यसलाई सामान्य रुपमा लिनु हुँदैन,’ उनले भने, ‘गम्भीर रुपले हेर्नुपर्छ, र समाधान गर्नुपर्छ ।’   

विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल गर्न बोलाइएको नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति भण्डारीको विषय मुख्य एजेण्डा बनेको थियो । 

बैठकमा सचिवहरू गोकर्ण बिष्ट र योगेश भट्टराईले समेत पार्टी निर्णय सच्याउनुपर्ने तर्क गरेका स्रोतले जनाएको छ ।

गएको साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई राजनीतिमा रोक्न सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे तथा स्थायी कमिटी सदस्य कर्ण थापाले प्रतिवाद गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी निर्णयप्रति असहमति जनाउँदै छुट्टै प्रतिवेदन प्रस्तुत गरेका छन् भने स्थायी कमिटी सदस्य कर्ण थापाले पनि फरक मत दर्ता गराएका छन् । थापाको ३२ पृष्ठ लामो समानान्तर दस्तावेजमाथि विधान महाधिवेशनमा छलफल हुनेछ ।

अब उपाध्यक्ष रामबहादुर थापा बादल खुलेसँगै पूर्वराष्ट्रपति भण्डारीको पक्षमा चार उपाध्यक्ष र दुई सचिव गरी छ जना पदाधिकारी उभिएका छन् ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७