भुइँमान्छेः त्याग र बलिदानको कथा

मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका बीच भएको त्रुटीपछि म आफैभित्र यस्तो काममा हात नहाल्न दवाव महशुस गर्दैछु। तर पुरानो साथी र एउटै आन्दोलनका सहयात्री विन्दा पाण्डेको भुइँमान्छे पढेपछि भने यसबारे चर्चा नगर्नु असम्भव जस्तै हुन गयो। यसको कारण हो पुस्तकमा समेटिएका भुइँमान्छेहरु र तिनले क्रान्ति र परिवर्तनका लागि भनेर पार्टी र नेताहरुप्रति गरेको विश्वासका असाधारण कथाहरु।
यो पुस्तक यसले समेटेका पात्र र इतिहासको सन्दर्भ तत्कालीन माले निर्माणका अनेक घुम्तीहरुमा भुइँतहमा बसेर आम मान्छेले कसरी पार्टी बनाउन मद्दत गरेका थिए भन्ने जानकारी दिने भएकाले महत्वपूर्ण दस्तावेज हो । नेकपा मालेको जरो झापा आन्दोलनमा पुग्छ। यो अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेशन केन्द्र (कोके) हुँदै विभिन्न भंगाला मिसिएर नेकपा माले बन्छ।
सात आठ वर्षको अवधीमा मालेले आकार लिन्छ र पार्टी निर्माण भने २०३५ देखि २०४७ सम्मको अवधीमा हो। पञ्चायती शासकहरुका क्रुर दमन सामना गर्दै, आफ्नो र बालबालिकाको गाँस काटेर, व्यक्तिगत जीवनलाई पार्टी र आन्दोलनको मातहत राखेर आम मान्छेले पार्टी र यसको नेतृत्वलाई बचाउन, संगठन फैलाउन गरेका योगदान र समर्पणले नेकपा मालेले शक्ति आर्जन गरेको थियो।
अहिले पार्टीको नेतृत्व पंक्तिका अधिकाङ्सको जीवन भुइँबाट धुरीमा पुगिसकेको देखिन्छ तर उक्तसमयमा त्याग र समर्पण गर्ने आम मान्छेको जीवन अहिले पनि भुइँ मै छ।
अहिले पार्टीको नेतृत्व पंक्तिका अधिकाङ्सको जीवन भुइँबाट धुरीमा पुगिसकेको देखिन्छ तर उक्तसमयमा त्याग र समर्पण गर्ने आम मान्छेको जीवन अहिले पनि भुइँ मै छ। यो विरोधाभाषलाई एकछिन छाड्ने हो भने यो पुस्तकले समेटको कालखण्ड र पात्र तथा तिनका दुःख सुखले त्यतिबेला उठेका समवेत स्वरहरु, निस्वार्थ त्याग र समर्पणका साझा कथा भन्छन् जसले उतिबेलाको माले र अहिलेको एमालेको वैभवशाली शक्तिको जगको काम गरेका थिए।
लेखकले पुस्तकमा केही पृष्ठभूमिका रुपमा नेकपाको स्थापना यताका राजनीतिक उतारचढाव, पहिलो दोस्रो र तेस्रो महाधिवेशन, त्यसपछि नेकपामा आएको विभाजन, महेन्द्रले गरेको सैन्य कू, झापा आन्दोलन, ०३६ सालको विद्यार्थी आन्दोलन र जनमतसङ्ग्रह, नेकपा मालेको स्थापनाको ऐतिहासिक पृष्ठभूमि सहित २०८० सम्म नेपाल कम्युनिष्ट पार्टी माले र एमालेको आन्तरिक जीवन र त्यसलाई प्रभावित गर्ने र अभिव्यक्त गर्ने राजनीतिक घटनाक्रम समेटेकी छन्। यसैगरी एमालेको चौथो महाधिवेशन र जनताको बहुदलीय जनवादमा भएको वैचारिक रुपान्तरण, कम्युनिष्ट पार्टीमा त्यसपछि पनि भएका एकता र विभाजन, निर्वाचनमा सहभागिता र प्राप्त उपलब्धीका पाटा पनि समेटिएका छन्।
यसमा प्रयोग भएको भुइँमान्छे भन्ने शब्दलाई चैं समेटिएका शेल्टरदाता, भुइँतहमा बसेर पार्टी निर्माणमा सहयोग गरेका श्रमजीवि र महिलाहरु, तिनले उठाएको जोखिम र व्यहोरेका दुःख, उनीहरुले देखाएको साहस र विरताका रोमाञ्चक कथाले अभिव्यक्त गरेका छन्।
प्रश्रित र विष्णु पौडेलहरुलाई जेल मुक्त गराउन चुमकला बञ्जाडेले उठाएको जोखिम, नख्खु जेल बिद्रोहपछि जंगलमा लुकेर बसेका वीरबहादुर लामा समेतका नेताहरुलाई घरमा मकै भुट्दै जंगलमा पुर्याउन सोमन, ठुलीमाया बल, माधव नेपालको प्रोत्साहनमा पार्टी निर्माणमा सर्वश्व सुम्पेर पनि पछि प्रधानमन्त्री भएका माधव नेपालले भेट नदिएका इटहरीका भक्तबहादुर, लेबी तिर्न हल गोरु बेचेर आफू बनी गरेर पेट पाल्ने तर पार्टीलाई सहयोग गरिरहने दुःखीराम चौधरी यहाँको कथाका केही बिम्वहरु हुन्।
पार्टी निर्माणको यो प्रक्रियामा सिपि मैनाली, अमृत बोहरा, जेएन खनाल, माधव नेपाल, मदन भण्डारी, जीवराज आश्रीत, आरके मैनाली, मोदनाथ प्रश्रित, केपी ओली, सिता खड्का, सुशिला श्रेष्ठहरुका कथा त सबैले देखे र सुनेका छन्। तर तिनलाई आश्रय दिने र भुइँमा बसेर सहयोग भरथेग गर्नेहरुका कथा भने कसैकसैका संस्मरणमा बाहेक यसरी पुस्तकाकारमा समेटिएका थिएनन्।
मोदनाथ प्रश्रित, अष्टलक्ष्मी शाक्य, इश्वर पोख्रेल, प्रदिप नेपाल, त्रिलोचन ढकालहरुले संस्मरणहरु मार्फत यस्ता सन्दर्भ ल्याएका छन्। तर ती एकदम थोरै र सिम्बोलिक मात्र छन् (हालै नेकपा एमालेले शेल्टर नामक पुस्तक ल्याएको भन्ने सुनेको छु, पढ्न पाएको छैन, सायद त्यसमा केही थप कुराहरु होलान्)।
“रिट्ठेकान्छाले एक दिन बनी गर्ने ठाउँ पाएनन् भने भोकै बस्नुपर्थ्यो। दिनभरि बनी गरेर ल्यायो। बेलका दुइचार जना कमरेड थपिन्छन्। आउने कमरेडले पनि कान्छाको अवस्था कहिल्यै बुझेनन् वा नबुझे झैं गरे। …बाटोमा टाँसिएको घर, सुत्ने ठाउँ छैन। घरमा खानेकुरा हुँदैन। जति छ त्यही बाँडेर खायो।…घरभित्र कमरेडलाई सुताएर रिट्ठेकान्छाले अधिकांस रात बाहिरै बिताए। गरिब, श्रमजीविहरुले यसरी लागे पार्टी बनाउन। पार्टी राम्रो बन्छ, ठुलो बन्छ र आफूले पनि जमिन पाउँछौं।
अरुको जस्तै हामी पनि एक दिन एउटा घरमा बस्न पाउँछौं भन्ने ठानेका थिए। तर …बनी गरेर ल्याएको खानेकुरा खाएर बाँचेका नेता कार्यकर्ता आज ठुला महलमा बस्छन्। ..ती श्रमजीविको न दैनिकी बदलिएको छ न त जीवन। उनको घरअगाडि गाडी रोकेर के छ कमरेड ? भनेर बोल्नसमेत लाज मान्ने र फुर्सद नहुने नेतासँग कान्छाको चित्त दुःखेको छ। तर यसको ख्याल कसले गर्ने ?” (ओम कोइरालाको संस्मरण, पेज ३६२)
“दुखीले श्रीमतीलाई तोरीको साग पकाउन लगाए। आफुलाई कोदोको खोले ल्याए र मलाई चिउरा र प्याजको टुक्रासहित तोरीको साग दिए। मैले अलिकति चिउरा तपाई खानुस् अलिकति खोले मलाई दिनुस् भनें। हामी दुइजनाले तोरीको साग र खोले चिउरा खायौं।
खाना खाएपछि बनारसको सम्मेलनबारे दुखीले भने पार्टीमा लेबी पनि बुझाउनु थियो। सम्मेलन अवधिभर बस्ने खाने पैसापनि चाहियो।अन्यत्र जुटाउन सकिएन। हलगोरु बेचेर लेबी र सम्मेलन खर्च टारें। अब घरमा वस्तुभाउ छैन, बनी गरेर जीवन चल्ने हो।” (पेज ३६०) सुनसरीका यी दुखीलाल र खुशीलालका योगदानका कुरासहित ओम कोइरालाको मर्मस्पर्शी लेख सामेल गरेर लेखकले इतिहासमा छुटिजाने समय र छुटिजाने यात्रुका रगतपच्छे भएका पाइताला र कष्टसाध्य यात्राका घटनालाई जीवन्त बनाउन मद्धत गरेकी छन्।
आफ्ना घर या कोठामा पार्टी नेता कार्यकर्तालाई शेल्टर दिने मध्यम किसान र धनि किसान, शिक्षक, विद्यार्थी र कर्मचारीहरुमध्ये केहीले २०४७ को परिवर्तनपछि केही फाइदा लिए होलान्, केहीले केही पनि पाएनन् पनि होला। उनीहरुले पनि अवश्य जोखिम उठाएर पार्टी बचाउन मद्धत गरे। तर उनीहरुले ती दुखीलाल या रिट्ठेकान्छा या भक्तबहादुर आलेहरु पार्टी सत्तामा पुगेको यो चकाचौंधमा कतै छुटे।
चुमकला बञ्जाडे, सोमन, ठुली बलहरुका योगदानले बनेको पार्टीले तिनीहरुलाई कहिल्यै नेता बनाएन, कतिलाई त सम्पर्क गर्न समेत बिर्से। पुस्तकमा उल्लेख भएका पोखराका हरि पौडेलकी आमा र लक्ष्मी भाटकी आमाहरु, पुस्तकमा नाम नआएपनि एमाले नेता रहेका कृष्ण थापाकी आमा र भोटेवडारको माथिपट्टिको एउटा शेल्टरकी आमा लगायतलाई म पनि सम्झन्छु जसले गरेका योगदानले ती क्षेत्रको पार्टी काम अगाडि बढ्न गरेको थियो।
पुस्तकको अन्तिममा समेटिएका सवलबहालका आश्रयदाताहरु, चुमकला बञ्जाडे, उद्धव केसी, सोमनाथ प्यासी, रामअवतार पासवान र चन्द्र पासवान, ओम कोइरालाका संस्मरणहरुले उक्त समयका चोटपटक राम्रोसँग उतारेका छन्। कहिँकहिँ त अहिलेको नेतृत्वको जीवनशैलीले इतिहासका ती संघर्षशील पात्रको छातीमा करौंती रेट्दै पो छ कि भन्ने समेत लाग्नसक्छ।
पुस्तकको अन्तिममा समेटिएका सवलबहालका आश्रयदाताहरु, चुमकला बञ्जाडे, उद्धव केसी, सोमनाथ प्यासी, रामअवतार पासवान र चन्द्र पासवान, ओम कोइरालाका संस्मरणहरुले उक्त समयका चोटपटक राम्रोसँग उतारेका छन्।
यो पुस्तकमा समेटिएका पात्र र सन्दर्भहरुले माले निर्माणको गर्भमा रहेका आक्रोश, पीडा, आँशु, त्याग र योगदानको विस्तारमा कथा भनेक छन्यायाधीशलाई । नेपाली राजनीतिक इतिहासको यात्रालाई गतिदिन त्यतिबेलाका मानिसहरुले गरेका योगदान अहिले सम्झँदा चैं धेरै शेल्टरदाता र भुइँमान्छेले भनेको जस्तै नेतृत्वप्रति आक्रोशको भाव आउन सक्छ, विरक्त पनि लाग्नसक्छ। तर इतिहासमा भुइँमान्छेले गरेको योगदानले नै हो आज हामी स्वतन्त्र नागरिकका रुपमा गणतान्त्रीक व्यवस्थामा निर्धक्क सास फेर्न सक्ने भएका छौं। यसैका लागि पनि नयाँ पुस्ताले उनीहरुलाई सम्झनु, सम्मान गर्नु आवश्यक छ।
केही तथ्यगत कुरामा राम्ररी छ्यानब्यान गरेर लेख्न भने लेखकले नसकेको देखिन्छ। जस्तो, कमरेड नेत्रलाल अभागीको अन्तिम संस्कारको बारेमा भनिएका कुरा र त्यतिबेलाको पार्टी प्रतिवेदनका कुरा मेल खाँदैन। अभागी घना जंगलको बाटो हिँड्दा कुनै कारणले बाटोको केही तल पुगेर मरेको पाइएको थियो। केही महिनापछि भेटिएको शव उनको नाडीमा रहेको घडीका आधारमा पहिचान गरिएको थियो। यसरी भेटिएपछि पार्टीले अन्तिम संस्कारका बाँकीकुरामा परिवारलाई सहयोग गरेको थियो। त्यसलाई पुस्तकमा भिन्न ढंगले लेखिएको छ।
गण्डकीका कास्की, स्याङ्जा र पर्वत, लुम्बिनीको रुपन्देही, मकवानपुर, बारा र काठमाडौं, धनुषा, महोत्तरी र सिराहा, झापा र मोरङ तथा सुनसरीमा भएका पार्टीका सम्मेलन, महाधिवेशन र केन्द्रीय कमिटिका बैठकलाई सहयोग गरेका र अरु शेल्टरदाताहरुका घरमै पुगेर गरिएको सम्वादले पुस्तकलाई थप अर्थपूर्ण बनाएको छ। भुइँमान्छेका प्रत्यक्ष चासो र अनुभवहरु आएका छन्। उनीहरु आफुले गरेको योगदान र आजको वास्तविकताबीच कसरी तुलना गर्छन् भन्ने कुरा बुझ्न यसले मद्धत गरेको छ।
यसैगरी पुस्तक तयार पार्दा लेखक र प्रकाशक दुवैले सम्पादनमा पर्याप्त ध्यान नदिएको पढ्दैजाँदा अनुभव हुन्छ। धेरै ठाउँमा सम्पादन अभाव खट्किन्छ। आउने संस्करणमा यसतर्फ लेखकको ध्यान जाओस्।
विन्दा पाण्डे आफै पनि उक्त समयकी साक्षी हुन्, कर्ता र भोक्ता दुवै हुन्। अहिलेको पार्टीको पावर एलिटहरुको पंक्तिमा उनको पनि नाम आउँछ। त्यति भएर पनि उनले इतिहासको यो खजाना खोज्न र पाठकहरुसम्म पुर्याउन जुन मेहनत गरिन् त्यो काम तारिफ ए काविल छ। उनलाई यसका लागि धन्यवाद दिनैपर्छ।
यसमा अभिलिखित पात्र र तीनका अनूभव अनुवाकोटमा भूति देशभर माले निर्माणका क्रममा, कम्युनिष्ट आन्दोलन जोगाउन र उठाउन गरिएका संघर्षहरुमा योगदान दिने हजारौं भुइँमान्छे मध्येका केही हुन्। यसलाई अझै पूर्ण बनाउन थप खोज र लेखनका लागि विन्दाजीलाई शुभकामना। विन्दाजीबाट सिकेर अरुले पनि यस्तो काम गर्न सके राम्रो हुनेथियो।
अन्तमा, यो पुस्तक नेपालको जीवित इतिहास हो। खोज, अनुसन्धान, सहायक सन्दर्भ सामग्रीहरुको प्रयोग तथा ओरल हिष्ट्री डकुमेन्टेशनको मोडल अप्नाइएकोले यसको विश्वसनीयता बढेको छ।
यो नेपालको समकालीन राजनीतिलाई पछिसम्मका लागि अभिलिखित गर्ने र नयाँ पुस्तामा अहिलेको पुस्ताको ज्ञान, अनुभव, राजनीतिक परिवर्तनका लागि गरिएका त्याग र बलिदानका कथा सम्झाउने सुनाउने बुझाउने गजवको अध्ययन सामग्री हो।
पुस्तकका लागि लेखक विन्दा पाण्डेलाई बधाइ।
पुस्तकः भुइँमान्छे
विधाः गैह्र आख्यान
लेखकः विन्दा पाण्डे
पेजः४०४
मोलः ८५०