सिन्धुपाल्चोकको बाह्रविसेमा एमालेको समानान्तर कमिटी

काठमाडौं : नेकपा एमाले बाह्रविसेमा समानान्तर कमिटी बनाइएको छ । सोमबार छुट्टाछुट्टै भेलाबाट समानान्तर कमिटी बनाइएको हो ।
जिल्ला अध्यक्ष होमनारयण श्रेष्ठ सहभागी कार्यक्रमबाट बमबहादुर तामाङको नेतृत्वमा एउटा कमिटी बनाइएको छ । भने उपाध्यक्ष अर्जुन भण्डारीसहितका पदाधिकारीको भेलाले माधव नेपालको नेतृत्वमा अर्को समिति घोषणा गरेको छ ।
बागमती प्रदेशका इञ्चार्ज राजन भट्टराईले ५ महिनाअघि उद्घाटन गरेको नगर अधिवेशनमा संगठित सदस्य विवादले बन्द सत्र सुरू हुन सकेको थिएन । केही दिनअघि बन्द सत्र सुरू गरेर कमिटी गठनको छलफल भए पनि नक्कली सदस्यता नहटाएसम्म सहमति नहुने अडान कायमै थियो ।
सोमबार जिल्ला इञ्चार्ज सरेश नेपालको निर्देशनमा जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ सहभागी भएर बन्द सत्रको कार्यक्रम बाह्रविसेको ग्राण्ड रिसोर्टमा भएको थियो । पूर्वअध्यक्ष ज्ञानेन्द्र राउत, सचिव राजकुमार सुवेदीलगायतका नेता पनि पुगेका थिए ।
त्यस्तै बागमतीका सदस्य एवं बाह्रविसेका इञ्चार्ज निमफुञ्जो शेर्पासहित, जिल्ला उपाध्यक्ष अर्जुन भण्डारी, सचिव कृष्णगोपाल तामाङ र उपसचिवद्धय शिवहरी सापकोटा र सुशिला पाख्रिनसमेतको उपस्थितिमा अर्को पक्षको भेला भएको थियो ।
जिल्ला अध्यक्ष सहभागी भएको बन्द सत्रबाट अध्यक्षमा बमबहादुर तामाङ ,उपाध्यक्ष कल्याणी घिसीङ, सचिव शीतल मोक्तानसहित ४२ सदस्य कमिटी गठन भएको घोषणा गरिएको छ । उपाध्यक्ष अर्जुन भण्डारीसहितको अर्को बन्द सत्रबाट अध्यक्ष माधव नेपाल, उपाध्यक्ष विक्रम श्रेष्ठ, सचिव ङिमा शेर्पा, उप-सचिवहरु आशिष दाहाल र बिनु तामाङसहित ३९ सदस्य कमिटी घोषणा गरिएको छ ।
माधव नेपाललाई अध्यक्ष बनाइएको भेलामा नगरभित्रका सबै वडा कमिटीका अध्यक्ष आएको र बैठकबाटै प्रतिनिधि छनोट गरेर ल्याइएको शेर्पाको दाबी छ ।
सिन्धुपाल्चोकको १०औं जिल्ला अधिवेशनसम्ममा बाह्रविसेको संगठित सदस्यको संख्या ७६६ थियो । तर, अधिवेशनपछि सदस्य संख्या एकैपटक १३ सय बढी पुगेपछि यहाँ विवाद बढेको थियो ।