जनार्दनबारे प्रचण्डको ब्रिफिङ : आफूले देखेको कुरा खुला राख्ने पाउने पार्टी हाम्रो हो

पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष निर्देशन


२०८२ भदौ १६ सोमबार १३:३४ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै, संगठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् ।

बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष प्रचण्डले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखेका छन् । उनले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताए ।

बैठकमा सहभागी हुनुको कारण स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भने, ‘सचिवालय र इन्चार्ज कमरेडले भौतिक रूपमा सुदूरपश्चिम आइदिन अनुरोध गर्नु भएको थियो, तर महिलाको राष्ट्रिय सम्मेलनलगायत केन्द्रीय गतिविधिका कारण म यो पटक भर्चुअलमार्फत सहभागी हुनुपर्‍यो । दशैंपछि मध्यपहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि दुई दिनको समय निकालेर म सुदूरपश्चिम प्रदेशमै आएर प्रत्यक्ष संवाद गर्नेछु ।’

अध्यक्षले सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए । उनले निर्देशन दिँदै भने, ‘अब सबै नेता–कार्यकर्ताले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नु पर्छ ।’

त्यस्तै उनले पार्टीभित्र आत्मसमीक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै हरेकले विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

पछिल्लो समय प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच अन्तर संघर्ष जारी छ । त्यसबारे बैठकमा प्रष्ट पार्दै भने, ‘हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जहाँ कार्यकर्ताले आफूले देखेको कुरा खुला रूपमा राख्न सक्ने अवसर पाउँछन् । पदाधिकारी बैठकदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने हाम्रो संस्कार माओवादी केन्द्रमा मात्रै छ ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७