पूर्व राष्ट्रपतिको सदस्यता रोकेको विषय विधान अधिवेशनमा पनि उठ्छ : सुरेन्द्र पाण्डे

‘लोकतान्त्रिकरणको अभावमा एमाले फुटेको होइन’


२०८२ भदौ १६ सोमबार १४:४३ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे पार्टीले लिएको निर्णयबारे आउँदो विधान महाधिवेशनमा पनि आफ्नो फरक मत राख्ने बताएका छन् । आज (सोमबार) काठमाडौंमा सञ्चारकर्मीसँगको अन्तर संवादको क्रममा उनले संविधानले रोक्दै नरोकेको विषयलाई पार्टीले विधान बनाएर रोक्न नमिल्ने दावी  गरे ।

पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषयमा पछिल्लो पटक बसेको एमाले केन्द्रीय कमिटी बैठकले रोक लगाएको थियो । पार्टीको उक्त निर्णयमा पाण्डेले फरक मत दर्ज गरेका थिए । पार्टी अपानिमा उक्त मत सर्कुलर नभएपछि उनले पार्टीमा पुनः स्मरण गराएका थिए ।

‘पछिल्लो केन्द्रीय कमिटी बैठकमा मसहित अरु नेताहरूले फरक मत राख्नु भयो । त्यसलाई तत्कालै भिन्न मतको रुपमा माइनट लेखन लेख्ने टोलीलाई दियौं । त्यो अपानिमा सर्कुलर भएन भनेपछि युवराज ज्ञवाली र म संयुक्त रुपमा छलफल गरेर पार्टीमा प्रस्तुत गरेका छौं,’ पाण्डेले भने, ‘स्वभाविक रुपमा आगामी विधान अधिवेशनमा हाम्रो यो फरक मत रहन्छ । आउँदो महाधिवेशनको विषयमा पनि हामी उठाउनेछौं ।

’एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले २ कार्यकारी पदमा कार्यकालको व्यवस्था उपयुक्त हुने बताए । उनले पार्टीमा दुई कार्यकालको व्यवस्थाबारे बहस भइरहेको र विधान महाधिवेशनले छिनोफानो गर्ने बताएका छन् ।

उपाध्यक्ष पाण्डेले उमेर हद हटाउने विषय प्राविधिक भए पनि २ कार्यकारी पदमा कार्यकालको व्यवस्था उपयुक्त हुने बताएका छन् । उपाध्यक्ष पाण्डेले गत विधान महाधिवेशनबाट २ कार्यकाल र उमेर हदको व्यवस्था गरिए पनि उमेर हदको व्यवस्था बिचमा निलम्बन गरिएको बताए । 

उनले पछिल्लो समय दुई कार्यकालको व्यवस्था ठिक कि बेठिक भनेर पार्टीमा बहस चलिरहेको र यही भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनले त्यसको छिनोफानो गर्ने बताए । 

‘यो बहसमा बहुमत विधान महाधिवेशन प्रतिनिधिले जे निर्णय गर्छन्, त्यही व्यवस्था रहन्छ’, पाण्डेले भने, ‘तर बहुमतले सधैँ सहि निर्णय नगर्न सक्छ’ उनले आज नगरे पनि भोलि यो पद्धति विकास हुने भन्दै विगतमा पनि त्यही भएको बताए । उनले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको मर्म र भावना पनि प्रतिस्पर्धा नै भएको बताए । 

उनले अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरेर नै मदन भण्डारीले बहुदलीय प्रतिस्पर्धाको बाटोबाट जानुपर्छ भनेर चौथो महाधिवेशन हुँदै पार्टीमा लोकतान्त्रिकरणको प्रक्रिया सुरु गरेको बताएका छन् । 

पछिल्लो समय नेकपा एमाले प्रतिस्पर्धाको कारणबाट पार्टी विभाजित भएको भन्ने भ्रममा सत्यता नभएको पाण्डेले बताएका छन् । ‘नेकपा नबनेर एमाले मात्रै भएको भए पार्टी विभाजन हुँदैनथ्यो’, पाण्डेले भने, ‘हामीलाई लोकतान्त्रिकरण नभएर पार्टी फुट्यो भन्ने भ्रम छ त्यो होइन । ढङ्ग नजानेर पार्टी फुट्यो ।’ उपाध्यक्ष पाण्डेले एमालेभित्र मात्र नभएर नेपालका सबै पार्टीभित्र लोकतान्त्रिकरणको मुद्दामा बहस चलाउनुपर्ने सुझाव दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७