बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो


२०८२ भदौ १६ सोमबार १५:०३ बजे
फाइल फोटो

कञ्चनपुर । अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेको छ । आइतबार (भदौ १५) रातिदेखिको वर्षाले डुबान भएको हो । भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी सागर बोहराले दोधारा चाँदनी–८, रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताए । यस्तै, दोधारा चाँदनी–३, पटराखल्लाका १५ घर डुबानमा परेको उनले बताए ।

‘दोधारा चाँदनीमा जोडबुढा नदी बस्तीमा पस्दा २५ घर डुबानमा पर्दा ७० जना विस्तापित भएका छन् । उहाँहरूलाई नजिककैको विद्यालयमा राखिएको छ’, उनले भने, ‘डुबानमा परेका परिवार र चौपायालाई सुरक्षित स्थानमा सारिएको छ ।’ पटराखल्लाका घरपरिवारका ५५ जना, उनीहरूका सरसामान र चौपाया समेत नजिककैको जमुना आधारभूत विद्यालयमा राखिएको उनले बताए ।

महाकालीमा बढ्यो जलस्तर
अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ । जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चार र तीनपांग्रे सवारीसाधनको आवागमनमा रोक लगाएको छ । डीएसपी बोहराले नदीमा पानीको सतह बढेर एक लाख ४० हजार २५० क्युसेक प्रतिसेकेन्ड पुगेको बताए । नदीमा पानीको बहाव एक लाख क्युसेक प्रतिसेकेन्ड पुगेपछि भारतीय पक्षले आवागमनमा रोक लगाउँदै आएको छ । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७