‘सरकारले प्रतिशोध साँध्न रवि लामिछानेलाई थुनामा पठाएको भन्ने अभिव्यक्ति हाँस्यास्पद’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले प्रतिशोध साँध्न आफूलाई थुनामा पठाएको रवि लामिछानेको अभिव्यक्ति हाँस्यास्पद भएको टिप्पणी गरेका छन् । वीरगञ्जमा सञ्चारकर्मीहरूसँग मन्त्री लेखकले सात वटा अदालतका बेन्चले दोषी ठहर गरी थुना पठाएको व्यक्ति आफू चोखिन सरकारलाई आरोप लगाउन नमिल्ने बताए ।
अहिले देशैभरीका कारागारमा करिब २८ हजार व्यक्ति थुनुवा र कैदीको रूपमा रहेको बताउँँदै मन्त्री लेखकले ती सबैले आफूसँग प्रतिशोध भएको भन्न नसुहाउने बताए ।
अरबौं रूपैयाँको सहकारी ठगीमा संलग्न व्यक्तिले अदालतको छानबिनलाई प्रतिशोध भनेर उम्कन नसक्ने उनको भनाइ छ ।
मन्त्री लेखकले आफूले गरेको गल्ती अर्कोतिर मोड्न त्यस्तै व्यक्तिहरुले भिजिट भिषाको प्रकरण झिकेर राजिनामाका लागि दबाव दिएको बताए । उनले आफूमाथि लागेको आरोप सम्बन्धमा अख्तियारले छानविन गरिहेको बताउँँदै कसैले आरोप वा उजुरी दिँदैमा मन्त्रीले राजीनामा दिन नमिल्ने बताएका छन् ।